१४ कार्तिक २०८३, शनिबार

भूकम्पपछि फैलने महामारी रोक्न एमाले नेता नेपाल सरसफाइमा सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepal-1काठमाडौँ,२१ वैशाख । सधैँजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता माधवकुमार नेपाल आज कुचो लिएर सडक बढार्ने कार्यमा सक्रिय रहनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति काठमाडौँले भूकम्पका कारण विभिन्न रोग आउन सक्ने भन्दै आज सहिद ढोकादेखि टुँडिखेलभित्रको अस्थायी शिविरसम्म आयोजना गरेको सरसफाइ कार्यक्रममा नेता नेपालले नेतृत्व गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले माक्स र पञ्जा लगाएर कुचो समाउँदै सडक सफा गरेको दृश्य कम रोचक थिएन । उहाँलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सघाउनुभएको थियो ।

नेता नेपालले विनाशकारी भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति भएको हुँदा सरकारले प्रभावित स्थानमा अविलम्ब उद्धार, राहत उपलब्ध गराउँदै सर्वसाधारण बस्दै आएको घरको जोखिम न्यूनीकरणका लागि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले भूकम्पले गर्दा विभिन्न रोगको सङ्क्रमण तथा महामारी फैलन सक्ने आशङ्का गर्दै त्यसलाई रोक्न सरसफाइमा जोड दिनु पर्ने धारणा राख्नुभयो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र काठमाडौँका अध्यक्ष ध्रुवबहादुर कार्कीले भूकम्पका कारण देशमा उत्पन्न भएको दुःखदायी परिस्थितिमा विभिन्न प्रभावित जिल्लाका जनतालाई राहत सङ्कलन भइरहेको जानकारी दिँदै अस्थायी शिविरमा सफाइ गरी जनचेतना फैलाउन सो कार्यक्रम गरिएको बताउनुभयो ।

नेता नेपालद्वारा राहत वितरण
यसैगरी नेता माधवकुमार नेपालले काठमाडौँ क्षेत्र नं २ अन्तर्गतका विभिन्न स्थानमा खाद्य सामग्री र पाल वितरण गर्नुभएको छ ।

विनाशकारी भूकम्पपछि मुलुकले भोग्नुपरेको सङ्कटलाई ध्यानमा राख्दै उद्धार तथा राहतको टोली लिएर प्रत्येक दिनजसो त्रिपाल, पाल, खानेकुरा, स्वास्थ्य टोली, निःशुल्क क्यान्टिनजस्ता कुराको व्यवस्थापन तथा अनुगमन गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेता नेपालले आइतबार लप्सेफेदी–नाङ्लेभारे क्षेत्रमा १५०, पालुबारीमा १००, इन्द्रायणीमा १२८, लप्सेफेदी–२ र ३ मा ७५, घुमारचोकमा १००, भुल्बुमा ८० र डाँछीमा ८० बोरा चामल वितरण गर्नुभएको थियो । रासस