
काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नागरिकता विधेयक सच्याउन आग्रह गरेका छन् ।
थापाले सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक सच्याउन आग्रह गरेका हुन् ।
आमाको नामबाट नागरिकता पाउने मुल कानुनमा भएको व्यवस्था भन्दा पनि संकुचित रहेको भन्दै सच्याउन थापाले आग्रह गरेका हुन् ।
उनले भने–‘बाबु पत्ता नलागेको आमाको सन्तानबारे जुन मुल ऐनको दफा ८ संसोधन छ, यसमा अलि ध्यान पुगेको छैन । बाबुको पुष्टाइँ गर्नुपर्ने व्यवस्थाले आमालाई झन्झट भयो भनेर त्यसलाई हटाउन खोजिरहेका बेला झन् अहिले त निज र निजको आमाले गरेको स्वघोषणाको आधारमा भन्दा त एकल आमाका सन्तानले नागरिकता पाउँदैनन् । झन् ठूलो अप्ठेरोमा पर्छ । त्यसकारण यसलाई सच्याइनुपर्छ ।’
आमाले गरेको स्वघोषणाका आधारमा बाबु पत्ता नलागेकालाई नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए । निजले, निजको छोराछोरीले स्वघोषणा गर्नुपर्ने भनेर अप्ठेरो पार्न नहुने उनको भनाइ छ ।
उनले भने–‘महिलाले विदेशी पुरुषसँग बिहे गरेको छ उसले आफ्ना सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन्न भन्यो त्यस्तो अवस्थामा के गर्ने ? त्यसको बारेमा पनि यो विधेयकले बोल्दैन । लैङ्गिक समानताको आधारमा पनि व्यवस्था हुन आवश्यक छ ।’















प्रतिक्रिया