– जानु पाण्डे
कपिलवस्तु, २० वैशाख । रसुवामा कार्यरत कपिलवस्तुका ३४ मजदुर महाभूकम्पमा परी बेपत्ता भएका छन् । शनिवार आएको भूकम्पमा परी सडक निर्माणका लागि एक महिना अघि रसुवाको हापु गाविस गएका ३४ जना मजदुर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
रसुवा मजदुरी गर्न गएका कपिलवस्तुको शिवराज नगरपालिका लगायत विभिन्न क्षेत्रका ३४ जना हाल सम्म पनि सम्पर्कमा आएका छैनन् । जयन्ती निर्माण सेवा काठमाडौंका ठेकेदार खगेन्द्र बुढाले उनीहरुलाई बाटो खन्ने कामको लागि हापुमा खटाएका थिए ।
काम गरिरहेको बेला एक्कासी भूकम्प आएर पहाड खस्न थालेपछी भागाभाग भयो । वल्ल वल्ल ज्यान जोगाउन सफल भए रसुवाको भुकम्पमा परी बाचेर आएका शिवराज नगरपालिका १३ का मानसिंह घर्तिले बताए । आफु अलि टाढा रहेकोले बच्न सफल भएको र उनीहरु सबै पहिरोमा पुरिएको हुन सक्ने उनको भनाई छ ।
आफुसँगै काम गर्न गएका भिम बहादुर बुढा, गुगौलीका ढिल बहादुर खड्का, हल्लानगरका गुमानसिंह घर्ती, जयमाला बुढा, रोजन पुनमगर, टेकबहादुर पुन, दिपक राना, शिवराज नपा १३ का जितेन्द्र विक, सुरेन्द्र मल्ल लगायत ३४ जनाको अवस्था अझै अज्ञात रहेको मजदुर मानसिंह घर्तीले जानकारी दिए ।
‘काम गर्दागर्दै एक्कासी भुकम्प आयो, पहाड भत्कियो, सबै भागाभाग गर्दा कोही बँचे, कोही कता हराए, पछि आफ्नो समेत होसहवास हरायो’ घर्तीले भन्नुभयो । आफू लगायत केहिलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको उनले स्मरण गरे ।
बेपत्ता भीम बहादुर बुढाकी श्रीमती मीरा खड्का अहिलेसम्म आफ्नो श्रीमान्को बाटो कुर्दै बसेकी छन् । काम गर्न गएका ३५ जना मध्ये एक जना मात्र फर्केपछि उनको मुटुले ठाउँ छाडेको बताउछिन् । ‘श्रीमान् काम गर्न गएको रसुवामा पनि ठूलो क्षति भएको खबरले फोन सम्पर्क गर्न खोजेँ, तर फोन लागेन । ठेकेदार दाइले तिम्रो श्रीमान्लाई मैले भेटाउन सकेन भनेपछि म बेहोस् परे ।’ गहभरि आँसु लिँदै उनले भनिन् ।
सानैदेखि दुवै खुट्टा नचल्ने, ह्वील चियरबाट हिँडडुल गर्ने, श्रीमान्कै सहारामा बाँचेकी मीरा यतिबेला एक्लि भएकी छिन् । दुई छोरी र पतिपत्नी गरी ४ जनाको सानो परिवार रहेको मीरालाई यतिबेला दुई छोरी पाल्ने जिम्मेवारी थपिएको छ । पति बेपत्ता भएपछि उनको परिवारमा शोकमा डुबेको छ । उनी बेसहारा बनेकी छन् । कसैले उनको बारेमा सोध्दा धरधरी आँसु झार्छिन् ।
‘आफू सपाङ्ग भएको भए पतिलाई खोज्न निस्कन्थें, आफैं परें अपाङ्ग, कसरी पत्ता लगाउने । अलिकति आश छ, कहिले आउलान् भनी बाटो हेर्दै बसेकी छु’ उनले भनिन्–‘पतिसँगै काम गर्न गएका दाजु गुगौली ३ का डिलबहादुर खडका समेत फर्केका छैनन् ।’
खगेन्द्र बुढाको जयन्ती निर्माण सेवा काठमाडौंले रसुवाको हापु गाविसस्थित लिएको सडक निर्माणको ठेक्कामा काम गर्न गएको सामान्य घाइते भई नयाँ जीवन पाएर घर फर्केका घर्तीले बताए । उनीसँगै कपिलवस्तु, रोल्पाका गरी १० जना बाँचेर फर्किएको तर लेबर, मिस्त्री, गाडी चालक सहित ३४ जना हालसम्म पत्ता नलागेको जानकारी दिए ।
काम गरी जीविका चलाउने सामान्य परिवारका ती व्यक्ति दैवी प्रकोपमा परी मरे कि बाँचेका छन् कुनै पत्तो नभएको उनले बताए । बेपत्ता भएका आफन्तमा यतिबेला रुवाबासी चलेको छ । आफन्तहरु आउने आशामा अझैपनि बाटो कुर्दै, फोनको प्रतिक्षा गर्दै बसेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भूकम्पपछि अधिकांश सडक निर्माण गरिरहेको क्षेत्रमा पहाड खसेर पुरिएकाहरुको बाँच्ने सम्भावना छैन् ।
















प्रतिक्रिया