मुस्ताङ, २० वैशाख । मुस्ताङ सदरमुकाम जोमसोम–९ मा अवस्थित ऐतिहासिक धुम्बाताल फुट्ने खतरा बढेको छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ताल वरिपरि जमिन भास्सिएको र तालका विभिन्न स्थानमा चिरा परेका कारण फुट्ने खतरा बढेको हो ।
करिब दुईसय वर्ष पुरानो तालमा भूकम्पपछि निरन्तर पानीको सतह घटिरहेको छ । पानीको सतह घट्ने र भ्वाङ पर्ने भएपछि ताल वरपरका सर्वसाधारण घर छोडेर अन्यत्र बास बस्न थालेका छन् । तालका कारण चम्ले गाउँ उच्च जोखिममा छ ।
ऐतिहासिक तालमा पानी घटेपछि बस्तीका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको ताल संरक्षण समितिका अध्यक्ष पहलबिसी थकालीले जानकारी दिनुभयो । “यसरी पानीको सतह कहिल्यै घटेको थिएन, ताल फुट्लाजस्तो देखिन्छ, त्यस वरपर जान पनि डर, उहाँले भन्नुभयो, “ताल फुट्यो भने पूरै गाउँलाई समस्या हुन्छ ।”
धुम्बाताल रहेका कारण चैले गाउँलाई पर्यटकीय गाउँका रुपमा चिनिन्छ । जोमसोम पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक उक्त तालको अवलोकनका लागि पुग्ने गर्छन् । ताल वरपर माछासमेत पाइने भएकाले माछाका पारखीहरु त्यहाँ पुग्ने गरेको अध्यक्ष थकालीको भनाइ छ ।
तालको जिल्ला दैवी प्रकोप उद्धार समितिको टोलीले समेत अनुगमन गरेको छ । ताल खतरामा रहेकाले त्यस वरपरका सर्वसाधारणलाई अन्यत्र सारिएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो । “केही हुनेबित्तिकै खबर गर्न स्थानीयलाई निर्देशन दिएका छौँ, हामी सम्भावित खतरा टार्न तयारी अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “ताल वरपर जमिनको भाग धेरै रहेका कारण तत्कालै फुट्ने सम्भावना छैन ।” रासस
















प्रतिक्रिया