
-एसपी उप्रेती
काठमाडौँ, २५ असार । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा तथा साहित्य समितिले २०९ औँ भानभक्त जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
आज अपराह्न ४ बजे भर्चुअल माध्यममार्फत भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. मुक्तिप्रसाद उपाध्यय बराल थिए भने विशेष अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बरालले वि. सं. २०११/२०१२ सालदेखि नै आफ्नी आमाबाट रामायण सुन्दै आएको स्मरण गर्दै भानुभक्तका बारेमा प्रकाश पारेका थिए । उनले भानुभक्तको जयन्ती २०१२ देखि गुहाटीमा मनाउन सुरु गरिएको लेखक लिलबहादुर क्षेत्रीले आफ्ना संस्मरणमा लेखेको उल्लेख गरे ।

त्यसपछि गुहाटीमा भव्य रुपमा भानु जयन्ती मनाउने गरिएको र आफूले सन् १९६३ मा सहभागी भएको साहित्यकार बरालले सम्झिए । बरालले आफूलाई सानैदेखि रामायणले छुने गरेको बताए ।
उनले रामायण कसरी रचना गरिएको बारे उल्लेख गर्दै भानुभक्तको रचना पनि वाचन गरेका थिए । त्यस्तै, भानुभक्तले विश्वका नेपालीहरुलाई एक बनाउन भाषाको माध्यमबाट अहम भूमिका खेलेको बरालले उल्लेख गरे ।
उनले आफ्ना सन्ताहरुलाई आफ्नो भाषा सिकाउने मात्रै नभएर त्यसप्रति आकर्षित गराउनुपर्ने औँल्याए । भानुभक्तले हामीलाई अक्षर दिएर गएकाले नै यसरी जयन्ती मनाइएको भन्दै प्रमुख अतिथि बरालले हामीले पनि अक्षर सिर्जना गर्न वा मूलतः केही कर्म गर्नुपर्ने बताए ।

त्यस्तै, विशेष अतिथि भट्टराईले भानुभक्त नेपालीहरुका मात्रै नरहेर भारतीय नेपालीहरु, नेपाली भाषीहरुका प्रेरणाका स्रोतका रुपमा मात्र स्थापित नभएर भुटान, बर्मा, थाइल्याण्ड, बेलायत, अमेरिका, रुस, अष्ट्रेलिया, नर्बे लगायत देशहरु जहाँ नेपालीहरु छन् भानुभक्तले प्रवेश गरेको बताए । भानुभक्त नेपाली जातीका पहिचानका रुपमा स्थापित भएका उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न सर्जकहरुले देश विदेशबाट रचना वाचन गरेका थिए । इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरले आफू दार्जिलिंग जाँदा त्यहाँ बनाइएको भानुभक्तको शालिक देख्दा नेपालीहरुले भानुभक्तलाई सम्मान गरेका रहेनछौँ भन्ने महसुस भएको बताए ।

त्यहाँ नेपाली भाषाप्रति अत्याधिक मोह देखेपछि नेपाली भाषाको श्रीवृद्धिका लागि आफूले पनि ईटा थप्नेछु भन्ने भावना जागृत भएको घिमिरेले उल्लेख गरे ।

इन्स भाषा साहित्य समितिकी अध्यक्ष एवम् कार्यक्रमकी संयोजक डा. जानुका पौडेलले भानुभक्तको रचनालाई उदृत गर्दै ‘कसलाई हो शत्रु भनेर जान्नु, आफ्नै दश इन्द्रीय शत्रु मान्नु’ जस्ता सन्देश भानुभक्तले दिएको उल्लेख गरिन् ।

हामी आफूमा भएका कुराहरुलाई सन्देशमुलक ढंगले समाजमा दिन सकिरहेका छौँ कि छैनौ भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले भानुभक्तका सन्देशहरु पछिल्लो पुस्तामा कतिको हस्तान्तरण हुन सकेको छ भन्नेबारे पनि सोच्नुपर्ने बताइन् । कार्यक्रममा सहभागीताका लागि सबैलाई आभार व्यक्त गर्दै पौैडेलले भाषा साहित्य समितिले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्यानडामा रहने इन्स भाषा तथा साहित्य समितिका वरिष्ठ उपाध्यक्ष रोम कान्त सापकोटाले विगतका वर्षहरुमा जस्तै समाजले यस वर्ष पनि भानुजयन्ती विशेष कार्यक्रम गरेको उल्लेख गरेका थिए ।
कार्यक्रम समितिका चैतन्य अधिकारी तथा सहसचिव महालक्ष्मी अधिकारीले सञ्चालन गरेका थिए ।















प्रतिक्रिया