२ कार्तिक २०८३, सोमबार

उपत्यकाका घरहरु ढल्नुका कारण यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu-home

काठमाडौं २०, बैशाख । मान्छेको जीवनको अभिन्न अंग मानिन्छ घर। एउटा घर बनाउन मान्छेले जीवनभर मेहनत गरेको हुन्छ। त्यस्तो मेहनतले बनाएका घर इन्जिनियरिङका सामान्य सिद्धान्त पालना नगर्दा भूकम्पले गल्र्यामगुर्लुम ढले। घर निर्माणमा घरमालिक, इन्जिनियर र ठेकेदारले गरेका गल्तीले यसपटकको भूकम्पमा ठूलो जनधनको क्षति भयो।

भूगर्भ इन्जिनियर डा. रञ्जनकुमार दाहाल शनिबार बिहान भक्त पुरको गुन्डु बसपार्कनजिक अनिरु द्र थापाको घर जाँच्न गए। महाभूकम्पले आफ्नो घर धरापमा परेको जानकारी दिएपछि तीनजना इन्जिनियरसहित गुन्डु पुगेका दाहाल घरको इन्जिनियरिङ देखेर छक्क परे। तीनतले घरको भ:याङ छोप्न बनाइएको ढलानको स्ल्याब उछिट्टिएको छ।

घर जाँच्दा थाहा पाए, बिम नै नबाँधी होचाअग्ला पिलरमाथि रड ओछ्याएर भ:याङ छोपिएको रहेछ। ‘यस्ता घर कति बनाइयो-बनाइयो। बिमसिम चाहिँदैन’, ठेकेदारको भनाइ उद्धित गर्दै थापाले दाहाललाई सुनाए। स्ल्याब झरेर छिमेकीको घर भत्काउने खतरा भएपछि नेपाली सेनाको टोली घर हटाउन गुन्डु पुगेको छ।

क्षति पुगेका घरको अनुगमनमा खटिएका इन्जिनियरहरूका अनुसार ठाउँअनुसारका डिजाइन नै छैनन्। एक ठाउँका लागि बनाएको डिजाइन अर्को ठाउँमा जस्ताको तस्तै उतारिएको छ। निर्माणस्थल हेरेर तथा भूबनोटअनुसार कता फर्किएका कस्ता घर बनाउने भन्नेमा कसैले ध्यान दिएको छैन। दुवैतिर खोंच भएको डाँडामा बनाइएका घरका पिलर र बिम भत्किएका छन्।

वसुन्धराको पाँचतले घर, कपनको साततले, आकासेधाराको पाँचतलेलगायतका घरमुनि ढल बगिरहेको भेटियो। स्ट्रकचरल इन्जिनियर प्रमोद न्यौपानेका अनुसार माटो परीक्षण नै नगरी ढलमाथि कमजोर जग उठाउँदा अग्ला घर भत्किएका छन्। ‘घरमुनि ढल बगिरहेको पाइयो। माटो परीक्षण नै नगरी बनाइएको रहेछ, न्यौपानेले भने।

त्यस्तै बिम र पिलरको जोड हुनुपर्नेमा धेरै घरमा त्यस्तो पनि पाइएन। ‘डन्डी देखिने गरी त्यो पनि एक फिटको फरकमा रिङ बाँधेको पनि भेटियो, जुन खतरनाक हुन्छ’, न्यौपानेले भने। सीतापाइलामा जोडिएर बनेका दुई घर एकआपसमा ठोक्किँदा एउटा घर ६ फिटसम्म सरेको छ। वाल जोडेर बनाइएका घरहरू धेरै भत्किएका छन्। ललितपुरको लुभु लामाटारमा पुरेको जमिनमाथि बनाएको अग्लो घर थचक्क बसेको छ। त्यहाँको जमिन र माटो सुहाउँदो घरको डिजाइन नगर्दा घर भासिएको हो।

इन्जिनियर डा. कृष्ण भेटवालका अनुसार उपत्यकामा भत्किएका अधिकांश घर मापदण्डविपरीत छन्। घर बनाउँदा दक्ष कामदार प्रयोग नहुनु पनि अर्को कारण हो। काठमाडौंको पुरानो नैकापमा माटोको एउटा पुरानो घर र पिलर भएको नयाँ घर जोडिएको छ। नयाँ घरको पिलर र ढलान पुरानो घरको काँचो इँटको गारोमा टेकाएका कारण माटोको घर धराप बनेको छ।

इन्जिनियरहरूको निष्कर्ष छ, उपत्यकाका अधिकांश घर माटोको अवस्था र प्रकृतिअनुसारका छैनन्। जस्तो मन लाग्यो, त्यस्तै बनाइएको छ। ‘कहाँ, कस्तो, कति तले घर कसरी बनाउने भन्ने सामान्य नियमसमेत पालना गरिएको छैन। सबैतिर एउटै फरमुला प्रयोग गरिएको छ’, दाहालले अन्नपूर्णसँग भने। इन्जिनियरिङको ज्ञान नै नभएका घरमालिकले डिजाइन गरेको ललितपुर लामाटारको एउटा नयाँ घरका बिम उछिट्टिएका छन्। त्यो घरमा पिलरमाथि बिम खप्ट्याएर बनाएको पाइयो।

अहिले राजधानीमा इन्जिनियरहरूका विभिन्न समूहले गरेको अध्ययनले भत्किएका धेरै घर बस्नै नमिल्ने प्रकारका रहेको देखाएका छन्। दाहाल समूहले दुई दिनमा हेरेका २७ घरमध्ये सात घरमात्रै बस्न मिल्ने छन्। कतिपय ठाउँका घरको गारो नै तीन सेन्टिमिटरसम्म सरेको इन्जिनियर सौरव र गोविन्द रेग्मीले भेटेका छन्।

भूकम्पले क्षति पु:याएका घरको अवस्था थाहा पाउन भुइँ भासिएको छ कि छैन, पर्खाल चर्किएको छ कि छैन भन्नेमा बढी ध्यान दिनुपर्ने इन्जिनियरहरूको सुझाव छ। चर्किएको गारोमा ह्यामरले हान्दा आएको आवाजका आधारमा गारो तथा पिलरको अवस्था थाहा पाउन सकिन्छ। बिम र पिलर नफुटेको वा नचर्किएको भए गारो भत्काएर पुन: लगाउन सकिन्छ।

‘गारो मात्रै अलिअलि चर्किंदा डराउनै पर्दैन, घर गएर बसे हुन्छ’, न्यौपानेले भने। इन्जिनियरहरूका अनुसार पर्खालमा एक मिलिमिटरभन्दा सानो चर्किएको रेखा भए केही पनि हुँदैन। त्योभन्दा ठूलो भए पर्खाल फुटाएर हेर्नुपर्छ। इँट सरेनसरेको आधारमा थप मर्मत वा पुनर्निर्माणको निर्णय गरिन्छ।

बलियो आरसीसी घर बनाउने तरिका

माटोको परीक्षण गर्नुपर्छ। माटोको अवस्था र प्रकृतिका आधारमा घरको डिजाइन।
घरले कति लोड थाम्छ, घरको कुन भागले कति लोड लिन्छ, सबै आँकलन गरेर मात्रै बनाउने। यसका आधारमा बिम तथा पिलरको आकार र स्ल्याब निकाल्ने।
. झ्यालमा लिन्टेल र सिल्ड राख्ने।
. गारोमा बिमको लोड दिनु हुदैन।
. बार्दलीवरिपरिको पाराफिट वाललाई ढलानले बाँध्ने।
. फाउन्डेसन नै बलियो बनाउने।

– अन्नपूर्ण पोष्ट दैनिकबाट