– पूर्णप्रसाद मिश्र
काठमाडौँ, २० वैशाख । पाँच दिनसम्म जीवन मृत्युसित सङ्घर्ष गरेपछि बाँचिएला भन्ने काठमाडौँ बूढानीलकण्ठका धीरबहादुर खड्कालाई विश्वासै थिएन । तर काल नआएपछि जस्तोसुकै सङ्कटमा पनि बाँचिदोरहेछ ।
कार्यालयमा काम गरेर बसेका बेला पहराबाट ढुङ्गा खस्ला र भाग्नुपर्ला भन्ने कार्यालय सहयोगी खड्काले कहिल्यै सोच्नुभएको थिएन तर वैशाख १२ गते शनिबार मध्याह्न यस्तै भयो ।
सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत खड्का भूकम्प आउँदा कार्यालयको मूल ढोकामा कार्यालय कुरिरहनुभएको थियोे । एकाएक कोदारीको पहराबाट ढुङ्गा खस्न थालेपछि उहाँ मात्र होइन, कार्यालयमा कार्यरत २० कर्मचारी र अन्य ४०० हाराहारीका मानिस पनि भागेर आई दुई भ्यानका पछाडि बीचमा ज्यान जोगाएर बसे । त्यहाँ बसेर पहिलो दिनको भूकम्पपछि ४०० को समूह शनिबार राति सुरक्षित हुने आसमा कोदारी डाँडामा रहेको गुम्बामा गई बसेका थिए । गुम्बा पनि भत्कन थालेपछि त्यहाँ आश्रय लिएर बसेका करिब ५०० मानिस जीवन बचाउन सकिने आशामा तातोपानी बजारमुनि रहेको सुक्खा बन्दरगाहमा झरेका थिए ।
“आइतबार दिउँसो कोदारी डाँडाबाट झरेर तातोपानी धारा नजिक आइपुगेपछि फेरि भूकम्प जान थाल्यो, अनि हामी कान्लामुनि टाउकालाई हातले छोपेर भित्तामा टाँसियौँ, यस बेला दुई जना महिला हाम्रै अगाडि ढुङ्गाले किचेर मरेको दर्दनाक दृश्य हामीले देख्नुप¥यो”–बुधबार चिनियाँ हेलिकप्टरबाट उद्धार भई चौतारा हुँदै काठमाडौँ आइपुग्नुभएका खड्काले घरनजिक बूढानीलकण्ठ मन्दिरमा रासससित कुरा गर्दै भन्नुभयो ।
कार्यालय प्रमुख दिव्यराज पोखरेल काठमाडौँमा भएकाले शाखा अधिकृत रमेश खड्काले कार्यालयको संयोजन गर्नुभएको थियो । वैशाख १३ गते आइतबार बिहान खड्काले कार्यालय प्रमुख पोखरेललाई फोन गरी तातोपानीको अवस्थाबारे जानकारी गराउनुभयो । “पोखरेलले सुक्खा बन्दरगाहमा गई बस्नू, काठमाडौँबाट उद्धार गर्न हेलिकोप्टर पठाउँछु भनेपछि हामी बन्दरगाहमा गई बस्यौँ, तर बन्दरगाहमा मौसमका कारण हेलिकोप्टर बस्न नसकेपछि कोदारी डाँडामा गई घाइते लिएर काठमाडौँ आएको थियो”– यसपछि बाँच्ने आस मारिसकेको बताउँदै खड्काले भन्नुभयो । आइतबार अपराह्न १ बजेको भूकम्पपछि सँगै हिँडेका कार्यालयका २० कर्मचारी पनि तितरबितर भएको तीतो घटना उहाँले सुनाउनुभयो ।
चीन सरकारको सहयोगमा बनेको १० रिक्टर म्याग्निच्युड स्केलको भूकम्प थाम्ने सुक्खा बन्दरगाह परिसरमा हेलिकोप्टर बस्न नसकेपछि बाँच्ने आसमा जम्मा भएका ५०० मानिसमा बाँच्ने आशा मरेको थियो तर तलबाट आएको हेलिकोप्टरका सेनाले मौसमका कारण यहाँ हेलिकोप्टर बस्न नसके पनि माथिका दुई रूख काट्ने हो भने हेलिकोप्टर बस्न सक्छ भनेपछि सबै मानिस ठूला रूख काट्न थालेका थिए । सिमलका ठूला दुई रूख काटेपछि त्यसलाई हटाउन समस्या भएको उहाँले सुनाउनुभयो । तर भूकम्पमा परी आफ्नी श्रीमती गुमाए पनि गुरुङ थरका एक चालकले डोजर लगाएर सिमलको रूखका मुढा पन्छाइदिएपछि त्यो ठाउँमा चौर सम्याएर हेलिकोप्टर बस्नयोग्य बनाई ज्यान जोगाउन सफल भएको दुखद् कथा खड्काले सुनाउनुभयो ।
“यसरी सिमलको रूख काटेर उपयुक्त ठाउँमा चौर बनाएपछि यही वैशाख १६ गते चिनियाँ हेलिकोप्टरले उद्धार गरी सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आएपछि अब बाँचियो भन्ने आस जाग्यो”–पाँच दिन जीवनका लागि सङ्घर्ष गरेको कथा सुनाउँदै उहाँले भन्नुभयो । सङ्कटमा फसेका सयौँ मानिस पाँच दिनसम्म भगवान्को नाम जपेरै जीवनको याचना गरिरहेको मार्मिक दृश्य पनि आफूले देखेको उहाँले बताउनुभयो ।
कार्यालयको संयोजन गर्नुभएका अधिकृत खड्काले कर्मचारीलाई सुरक्षित राख्न गरेको प्रयास सराहनीय रहेको उहाँले जानकारी गराउनुभयो । तातोपानीमा अझै ४० ठूला ट्यांकरसहितका गाडी पहिराले किचेको प्रत्यक्ष देखिएकाले त्यसभित्र भएका मानिसको उद्धारका लागि सरकारीलगायत निकायले छिटो पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
“धेरै मानिस भागदौडका क्रममा पहिराले पुरिएको हामीले देखेका छौँ, आफ्नो ज्यानसमेत जोखिममा परेकाले हामीले त्यति बेला केही गर्न सकेनौँ, अब मौसम पनि खुल्न थालेको छ, यस्ता मानिसको उद्धारमा सरकारले छिटो पहल गरोस्”–पहराका बीचमा रहेको तातोपानी बजारको सम्झँदै उहाँले भन्नुभयो । रासस















प्रतिक्रिया