१ कार्तिक २०८३, आइतबार

तीन वर्षीय बालकको १५ दिनपछि उद्दार, अपहरणमा संलग्न महिला पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनकपुर, २१ असार । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्दार गर्न सफल भएको छ ।

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले बालकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई बालकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्दार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयवासीले भने पनि ती महिलाको परिचय खुलेको थिएन ।

जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताए । –रासस