
काठमाडौँ, १९ असार । सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सात दिने स्पष्टिकरण सोधेको छ ।
सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी रहेका उनी तीन महिनादेखि सम्पर्कमा नरहेका बताइएको छ ।
डा. साह वैशाख १३ गतेदेखि गैरहाजिर छन् । मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हाजिर नहुनुको कारणसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।
यसअघि पनि उनको स्थानीय ठेगानामा सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
त्यस्तै, असार २ मा गोरखापत्रमा पनि सूचना सार्वजनिक गरिएको थियो ।
सफाई पेश गर्न आग्रह गर्दा बेवास्ता गरेको जनाउँदै मन्त्रालयले हटाउने तयारी गरेको हो ।
मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।















प्रतिक्रिया