
काठमाडौँ, १६ असार । सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेलतलाई काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनामका वार्डेन बस्नेतलाई अदालतका न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जनाएको छ ।
बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए ।
जाहेरीमा उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको बयान दिएका थिए ।
आदेशमा शिक्षकबाट यस्ता व्यवहार कल्पना गर्न नसिकने भनिएको छ । ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा उल्लेख छ ।
बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।















प्रतिक्रिया