१ कार्तिक २०८३, आइतबार

गगन थापालाई संकेत गर्दै झलनाथले सोधे– चार पाटा मुडियोस् भन्नेहरू कहाँ छन् ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस महामन्त्री गगन थापाको भनाइप्रति प्रश्न गरेका छन् ।

खनालले नेपालमा अमेरिकी सेना आए चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी थापालाई प्रश्न गरेका हुन् ।

सोमबार काठमाडौँमा आयोजित नेपालमा समाजवाद ः सम्भावना र चुनौती विषयक कार्यक्रममा खनालले यस्तो प्रश्न गरेका हुन् ।

थापाप्रति संकेत गर्दै खनालले अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

संसदबाट एमसीसी पारितको विरोधमा सांसदहरुले अमेरिकी सेना आउन सक्नेबारे चर्को आलोचना गरेका थिए । त्यसको जवाफमा थापाले अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए ।

त्यही भनाइलाई लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको मस्यौता सार्वजनिक भएकोबारे प्रश्न गरेका हुन् ।

‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर’ खनालले भने, ‘त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा ।’

उनले आफ्नै पार्टीप्रति पनि लक्षित गर्दै आफूले एमसीसीको चर्को विरोध गरेको तर पास नभए अस्तित्व नै हराउने डरले मानेको पनि बताए । त्यसबेला नेकपा एसका अध्यक्ष माधव नेपालले यदि एमसीसी पास नभए गठबन्धन टुट्ने र आफ्नो पार्टीको अस्तित्व नरहने अभिव्यक्ति दिएका थिए ।

एसपीपी अस्वीकार गर्नुले नेपाली पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकिएको र अलिकति भए पनि राष्ट्रियता जोगिएको खनालको भनाइ छ ।