
काठमाडौं, १३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूलाई टाइगर अर्थात् बाघको संज्ञा दिएका छन् ।
पदबाट राजीनामा दिएर आइतबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई बाघको संज्ञा दिएका हुन् । ‘मैले नौ महिनामा धेरै राम्रो काम गरेको छु, टाइगर अभितक जिन्दा हे,’ उनले भने, ‘मन्त्री पदको हैसियतमा मैले गरेको कामबाट म ९० प्रतिशत सन्तुष्ट छु ।’
आलेले आफ्नो नौ महिने कार्यकालमा भएका सबै कामबारे जानकारी दिँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट रहेको बताएका हुन् । कतिपय अधुरा कामहरू अब आउने मन्त्रीले पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरू आफ्नो कार्यकालमा भएको आलेको दाबी छ । यसैगरी भीआईपीहरूको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने नियम पनि लागू गराएको उनले बताएका छन् ।
आलेसहितका पाँच जना मन्त्रीलाई उनीहरूको पार्टी नेकपा एसले जबरजस्ती पदबाट राजीनामा गराएको छ । मन्त्रीहरूको अनिच्छा हुँदाहुँदै र लफडाबाजीबीच प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र कृष्णलाल महर्जनको मन्त्री पद गुमेको छ ।
उल्लेखित मन्त्रीहरूलाई विस्थापित गर्दै एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।















प्रतिक्रिया