
काठमाडौं, १२ असार । वरिष्ठ पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी अगस्ट १५ अर्थात् साउन ३० गते हुने टानको साधारणसभा एवम् निर्वाचनका लागि सापकोटाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
उम्मेदवारी घोषणासँगै उनले खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनर्ताजकीकरण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । त्यस्तै भद्रगोल अवस्थामा रहेको टिम्सलाई खारेज गरी ट्रेकिङ कम्पनीको सिफारिसमा सबै ट्रेकिङ रुटहरुमा अनिवार्य ट्रेकिङ परमिट लागू गराउने प्रयास गर्ने, सबै पदयात्रा क्षेत्रमा अनिवार्य गाइड लिएर मात्र पदयात्रा गर्नुपर्ने नियम लागु गराउन सरकारसँग लबिङ गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
यसअघि नेपाल पर्यटन बोर्डमा सदस्य भएर समेत काम गरिसकेका उनले टिम्स कोषमा रहेको टानको रकम निकासा गरी स्थानिय निकायसँगको सहकार्यमा पदयात्रा मार्गको स्तरोन्नतिका साथै प्रवर्द्धन गर्ने प्रयास गर्ने र लामो समयदेखि टानमा रहेका बेरुजुहरुको फर्छौट गराई टानलाई पारदर्शी सस्थाको रुपमा अगाडि बढाउने घोषणा पनि गरेका छन् ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको विभिन्न मुद्दाहरुलाई कानुनी तबरबाट यथाशीघ्र निरुपण गरी सस्थाको छविलाई स्वच्छ बनाउन अधिकतम प्रयास गर्ने, ट्रेकिङ कम्पनीको चुक्ता पुँजी २५ लाखबाट बढाएर ५० लाख रुपैयाँ पुर्याइएकोमा त्यसलाइ घटाएर पुरानै बनाउन प्रयास गर्ने, मजदुर र व्यवसायीहरुबीच उच्चतम सहकार्यमा पर्यटकहरुलाई सेवा दिने साथै मालिक र मजदुरबीच सौहर्दपूर्ण सम्बन्ध निर्माण गर्न टानले अभिभाबक्त्वको भूमिका खेल्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
पदयात्रामा सम्भावना रहेका क्षेत्रहरू गुमाउँदै गएको अवस्थामा टानलाई पुनर्जीवन दिन आफू नेतृत्वमा आउन चाहेको सापकोटाको भनाइ छ । ‘पदयात्राका बढी सम्भावना रहेका अल्टरनेटिभ ट्रेकिङ ट्राइलको प्रवर्द्धन हुनुपर्छ,’ सापकोटाले भने, ‘पर्यटन क्षेत्रमा भावनात्मक प्रतिनिधित्व हुने गरी जिम्मेवार नेतृत्वको खाँचो छ ।’
लामो समयदेखि पर्यटनमा आवद्ध सापकोटा आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशक हुन् । टान पदयात्रा व्यवसायीहरुको छाता संगठन हो ।















प्रतिक्रिया