धुन्चे (रसुवा), १९ वैशाख । एक साता अघिको विनासकारी भूकम्पपछि रसुवाको हाकु गाविसमा झाडापखाला फैलिएको छ ।
हाकु गाविसको ठूलो हाकुमा झाडापखाला देखा परेको हो । झाडापखाला देखिएपछि नेपाली सेनाको चिकित्सक टोली आज त्यता लागेको छ । हेलिकप्टरमा गएको चिकित्सक टोलीले उपचार थालेको धुन्चेस्थित नारायण दल गणका कर्णेल लक्ष्मण थापाले जानकारी दिनुभयो ।
“चिकित्सक टोली पुगेर उपचार सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो । ठूलो हाकुको जनसङ्ख्या करिब चार सय रहेको छ । यस्तै नेपाली सेनाले घोडातबेला नजिकै हराइरहेकाहरुको खोजी कार्यलाई जारी राखेको छ ।
यसैगरी, भूकम्पपछि लाङटाङमा गएको हिमपहिरोमा परी हराइरहेकाहरुको खोजी आज पनि जारी छ । हिमपहिरामा परी सो क्षेत्रमा करिब एक सय ७० स्थानीय वासिन्दा र करिब डेढ सयको सङ्ख्यामा विदेशी पर्यटक हराइरहेका छन् । एक जना आफ्ना नागरिक हराइरहेकाले १६ सदस्सीय इजरायली सैनिक टोली उक्त क्षेत्रमा खोजी कार्यमा जुटिरहेको छ । रासस















प्रतिक्रिया