– दीपक ओली
धनगढी, १९ वैशाख । शनिबार दिन । मध्यान्हको बाह्र बज्नै लागेको थियो । आफन्तजनलाई फोन गर्न पालो कुरेर बसेका थियौं । माथिपट्टीको टीन (जस्ता पाता) एक्कासी जोरले हल्लीन थाल्यो । आँधीहुरी आयो सोचेर पर्खाल भएतिर लाग्यौं । क्षणभरमै पूरै घर मच्चीन थाल्यो । पर्खाल गल्याङगुर्लुङ् भत्कियो ।
सबै बचाउ बचाउ भन्दै भाग्न थाले । म सहित केहि साथीहरु भत्केको पर्खाल नाघेर नजिकैको टुडिँखेलमा गएर बस्यौं । हामी टुडिँखेल पुग्दा त्यहाँ सुरक्षाकर्मीहरु लगायत अन्य धेरै उपस्थित भइसकेका थिए । सबैजना डरले रातोकालो भई बोल्न सक्ने अवस्थामा थिएनन् । लगातार जसो भूकम्पको झट्का आइरहेको थियो ।
यो भनाई सिन्धुपाल्चोक कारागारबाट भाग्न सफल भई कैलालीको धनगढीस्थित कारागारमा आत्मसमर्पण गरेका २० वर्षीय कैदी तपेन्द्र विष्टको हो । विष्ट कर्तब्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय पाएर सिन्धुपाल्चोक कारागारमा रहेका थिए ।
गएको शनिबार आएको बिनाशकारी भूकम्पमा परी सिन्धुपाल्चोक कारागार पूरै भत्किएपछि विष्टले त्यहाँबाट भागेर कैलाली कारागारमा आएर आत्मसमपर्ण गरेको बताए । छ दिनपछि अर्थात् बिहीबार विष्टले लिखित निवेदनसहित कैलाली कारागारमा आत्मसमर्पण गरेका हुन् ।
कैलालीको साढेपानी गाविस ४ घर भएका विष्ट २०६६ साल मंसिर ६ गते कैलाली अदालतको फैसलापश्चात् १० वर्षका लागि कर्तब्य ज्यान मुद्दामा जेल परेका हुन् ।
जेल पर्दा विष्टको उमेर १४ वर्षको थियो । नाबालक भएकाले उनलाई भक्तपुरको सांगास्थित बालसुधार गृहमा १४ महिनासम्म राखेर पछि कास्कीको सराङकोट बालसुधार गृहमा राखिएको थियो । विष्टले बालसुधार गृहमा बसेर ९ कक्षासम्म अध्ययन गरेको बताए ।
विष्टले २०७० असार ३ गते गोरखा जिल्ला कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा भएर आएको बताए । उनले भने–‘कारागारमा महिलापुरुष गरी अढाई सय बन्दी थियौं । भूकम्प आएपछि ढोका खोलिदिनुस् भनेर सवै खुब चिच्यायौं तर प्रहरी लगायत सवै कर्मचारी भागाभाग गर्न थाले । हाम्रो कुरा कसैले सुनेनन् । म सहित केहि कैदीबन्दीले पनि भत्केको पर्खालबाट निस्केर ज्यान जोगाउन सफल भयौं । कारागारमा रहेका कति मरे ? कति जिवितै छन् ? आफूलाई केहि थाहा छैन् ।’
कारागारबाट ज्यान बचाएर टुडिँखेलमा सिन्धुपाल्चोकका डीएसपी, जेलर, न्यायधिश सँगै चार घण्टासम्म सँगै बसे । उनीहरुलाई आफ्नो बारे सवै कुरा पनि बताए । तर, उहाँहरुले जे गर्छौ आफै गर । यहाँ ज्यानै जोगाउन मुस्किल छ । भागेर अन्त गएपनि आत्मसमपर्ण गर्नु राम्रो हुन्छ भन्ने सल्लाह दिए (विशेषगरी जिल्ला न्यायधीशले) ।
‘भूकम्पका झट्का आउँदै थिए । जे जे होला भनेर त्यही दिन दिउँसो तीन बजेतिर चौताराबाट काभ्रे घर भएका केहि मानिसहरुको पछि लागेर पैदलै धुलिखेल आए,’ विष्टले भने, ‘सात बजे साझ धुलिखेलबाट गाडी चढेर त्यही दिन काठमाडौंको बानेश्वर पुगे ।’
उनले भने–‘भूकम्पको झट्का आइरहेकोले बाटोमा बाचिँएला भन्ने आसा थिएन् । खल्तीमा पैसा पनि थिएन् । धुलिखेलमा एकजना चिनेजानेकासँग पन्द्र सय रुपैयाँ मागे । १३ गते आइतबार कलंकीबाट गाडी चढेर १४ गते सोमबार सकुशल कर्णाली चिसापानीमा रहेको घरमा पुगे ।’
फोनले काम नगर्दा कहिँ सम्पर्क गर्न पाएको थिएन् । घरमा आमा, बहिनी थिए । एक्कासी मलाई देख्दा उनीहरु चकित भए । तीन दिन घरमा बसेर आफन्तजनसँग भेटघाट भलाकुसारी गरे । सवैले पनि आधा बढी जेल सजाय भुक्तान गरिसकिस् भागेर अन्त नजा धनगढी गएर आत्मसकपर्ण गर । तेरो राज्य पछि राम्रै मूल्यांकन गर्छ भन्ने सल्लाह दिए । मेरो पनि भाग्ने मनसाय थिएन् । त्यहि भएर १७ गते बिहीबार लिखित निवेदन सहित धनगढी आएर कारागारमा आत्मसमपर्ण गरेको हुँ विष्टले भने ।
बुबाको चार महिनाअघि मृत्यु भयो । घरमा दुईटी आमा र पाँच जना दाजुभाई र चार दिदीबहिनी छन् । गाउँमा झगडा पर्दा एकजनाको ज्यान गयो । त्यहिँ आरोपमा १० वर्ष जेलसजाय पाएको हुँ । अब जेलबाट छुटेपछि बृद्ध आमाको स्यारसुसार तथा समाज सेवामा लाग्ने छु विष्टले भने ।
सिन्धुपाल्चोक कारागारबाट भागेर आएका विष्टले आफू भाग्नु परेको कारण सहित लिखित निवदेन दिएका छन् । नियमले त यहाँको कारागारमा राख्न मिल्दैन् थियो । त्यसबारे कारागार विभागमा खबर गर्दा जटिल परिस्थिती भएकोले त्यहीको कारागारमा राखेर बाँकी जेल सजाय भुक्तान गर्नु गराउनु भन्ने आदेश आएपछि कारागारमा चलान गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
विभागको स्वीकृती पछि विष्टलाई बिहीबारदेखि नै कारागारमा राखेका छौं । उनले भनेबमोजिम सवै कुरा मिल्न गएको छ । उनको कारागारबाट मुक्त समय २०७६ साल मंसिर ९ गते रहेको कैलालीका जेलर पुष्कर खड्काले बताए ।
















प्रतिक्रिया