
काठमाडौँ, ८ असार । सरकारले स्वास्थ्य बीमा अन्तर्गतको ठूलो रकम भुक्तानी नगरेको अस्पतालहरुले बताएका छन् ।
पूर्वका मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत बीमाको अर्बौँ रकम सरकारबाट पाउन बाँकी रहेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका हुन् ।
सरकारले ५ वर्षअघि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको थियो । जसमा ५ जनाको परिवारले ३५०० तिरेपछि स्वास्थ्य बीमाको सुविधा पाउने व्यवस्था छ ।
हाल ७२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छन् ।
झापा जिल्लामा मात्रै करिब ७ लाख हाराहारी स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले बताउँछन् ।
बीमाबापत उपचार गरेको रकम आफूहरुले सरकारबाट नपाएको उनीहरुको भनाइ छ ।
बीएण्डसीले स्वास्थ्य बीमा योजनामा विगत २ वर्षदेखि सेवा दिइरहेको प्रसाईँको भनाइ छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा जोडिएर बीमा गरेका दैनिक १ हजार जना बिरामी अस्पताल आउँछन्,’ उनले भने, ‘यी सबैलाई हामी उपचार गरेर पठाउँछौं । तर, उपचार गरेबापत राज्यले दिनुपर्ने रकम हामीलाई दिएको छैन ।’
जसमा सरकराले बीएण्डसीलाई मात्रै ४५ करोड बढी रकम सरकारबाट भुक्तानी गर्न बाँकी रहेको प्रसाईँ बताउँछन् ।
यस्तै, नोबेल मेडिकल कलेजले पनि स्वास्थ्य बीमा कार्यक्रमबाट उपचार गरेको ५४ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको बताइएको छ । यस्तै, बिराट मेडिकल कलेजले समेत सोही रकम बराबरको रकम लिन बाँकी रहेको बताइएको छ ।
यदि यही असार २० गतेसम्म रकम सरकारले नदिए सेवालाई बन्द गर्न बाध्य हुने उनीहरुको भनाइ छ ।
‘हामीले मेडिकल कलेज सञ्चालन गरेबापत राज्यलाई २५ प्रतिशत कर तिर्नुपर्छ,’ प्रसाईं भन्छन्, ‘यदी समयमा कर नबुझाए थप २५ प्रतिशत जरिवाना गर्छ ।’ तर सम्झौतामा १५ दिनभित्र भुक्तानी पाउने व्यवस्था उल्लेख भएको स्मरण गर्दै मेडिकल व्यवसायीहरुले डेढ वर्षसम्म करोडौँ भुक्तानी नहुँदा समस्या परेको बताए ।















प्रतिक्रिया