४ कार्तिक २०८३, बुधबार

‘पाल पाए स्वर्ग पुगेजस्तो हुने थियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ookhaldhunga-bhukamapa (7)काठमाडौँ, १८ वैशाख । दिउँसो घाम लागेका बेला रुखको छहारीमा बस्छौँ, राति पानी परेमा कता ओत लाग्ने भनेर खोज्दैमा निथु्रक्कै भिजिन्छ, अब त बाँच्नै गाह्रो भइसक्यो ।

यो सामूहिक भोगाइ हो सात दिनदेखि विनाशकारी भूकम्पका कारण खुला आकाशमुनि जीवनयापन गरिरहेका सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका पीडितको । जिल्लामा अहिलेसम्म दुई हजारभन्दा बढी भूकम्पकै कारण दिवंगत भइसकेका छन् । सबैजसो घर भत्किएका छन् । बालकदेखि बृद्धसम्म खुला आकाशमुनि रात बिताउँदा पनि कसैको सहारा नपाइएको स्थानीयले गुनासो गरेका छन् ।

“हामी बरु पानी तताएर खान्थ्यौँ, एउटा पालको व्यवस्था भए स्वर्ग पुगेजस्तै हुने थियो”– सिन्धुपाल्चोक जिल्लाको मध्यभागस्थित नवलपुर गाविस–४, टाकुरेका ८३ वर्षीय स्थानीय बृद्ध ठूलो ईन्द्रप्रसाद काफ्लेले रासससितको टेलिफोन सम्पर्कमा भन्नुभयो “म त के गर्न सक्थेँ र ? छोरा बुहारीले अहिलेसम्म जेनतेन केही न केही खोजेर खुवाइरहेका छन्” ।

लगभग दुई हजार घर र ११ हजार जनसङ्ख्या रहेको यस गाविसमा मुस्किलले दुई दर्जन घरमा मात्र कुनै क्षति नपुगेको गाविसका पूर्वअध्यक्ष चन्द्रमान ताल्चाभँडेलले बताउनुभयो । “गाविसमा मर्नेको सङ्ख्या अझै यकिन हुनसकेको छैन, उद्धारका लागि कतैबाट केही सहयोग हुनसकेको छैन, गाउँगाउँमा मानिस काममा गएकाले कम क्षति भएपनि पृथ्वीनारायण शाहले काठमाडौँ विजय गर्दादेखि स्थापना भएको नवलपुर बजारमा भने धेरै क्षति भएको छ, अहिलेसम्म तीन दर्जनको मृत्यु भइसकेको छ”–उहाँले भन्नुभयो ।

बजार बाहेकका गाउँमा पनि बृद्ध र बालबालिका बाहिर निस्कन नसकेर मरेका छन् । यस्तो संवेदनशील अवस्थामा पनि सरकारले तथ्याङ्क सङ्कलनका लागिसमेत स्थानीय निकायलाई परिचालन गर्न नसकेकोमा स्थानीयबासी आक्रोशित बनेका छन् ।

पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेर पूर्व एक नम्बर विजय गर्न जाने क्रममा नवलपुरमा पुगेपछि घोडचढीसहितको सेना अगाडि बढ्न नसकेपछि स्थानीय ज्योतिषीको सल्लाहमा नवलपुर भीमसेनलाई भाकल गरेपछि सेना अगाडि बढेर विजय हासिल गरेको ऐतिहासिक तथ्य रहेको स्थानीय भवनाथ खनालले बताउनुभयो ।

गाउँमा अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले बत्तीको लाइन नछोडेकाले मोबाइल चार्ज गर्न नपाउँदा कतै सम्पर्क गर्न नसकेको स्थानीय बलराम खनालले बताउनुभयो । “मोबाइल चार्ज गर्नकै लागि हामी काभ्रेपलाञ्चोक र काठमाडौँ जान बाध्य हुनुपरेको छ, उता जाँदा गाउँका धेरै मानिसको मोबाइल र चार्जर बोकेर जाने गरेका छौँ, हामीलाई त बत्तीमात्र छोडिदिए पनि सबै कुरा पाएजस्तो हुनेथियो”–उहाँले भन्नुभयो ।

जिल्लाको ६ नं इलाकाको सदरमुकामका रुपमा रहेको नवलपुरमै अहिलेसम्म राहत नपुग्दा बालक र बृद्धको हालत दयनीय बन्दै गएको स्थानीयले गुनासो गरेका छन् । खुला आकाशमुनिको बसाइका कारण धेरैलाई चिसो लागेको छ, जसले गर्दा खोकी र टाउको दुख्ने समस्या बढ्न थालेको छ ।

स्थानीयबासी यसरी बिरामी हुँदा सरकारी निकायको उपस्थिति देखिएको छैन । नवलपुर स्वास्थ्यचौकीमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा स्थानीयबासीले प्राथमिक स्वास्थ्य सुविधासमेत नपाउने खतरा बढेको महिला स्वास्थ्य स्वयंसेविका विष्णुमाया रानामगरले भन्नुभयो । रासस