काठमाडौँ, १८ बैशाख । चार माहिनाको बालक । गुडिया हो कि मानिस, ठम्याउनै गाह्रो । माटोले नछोपिएको कुनै ठाउँ थिएन । जसलाई भत्किएको घर मुनिबाट निकालियो । उनी माटोमा पुरिएको २२ घण्टा भैसकेछ ।
अचम्म ! उनी जीवितै थिए । भूकम्पले ज्यान लिनेको संख्या ६ हजार माथि चढिसक्दा ती बालकले भने भूकम्पलाई नै जिते । त्यसैले त बाँचे । भक्तपुरका यी वालकको फोटो अहिले विश्व चर्चित बनेको छ । उनी हुन्, सोनित अवाल ।
गत शनिवार गएको विनाशकारी भूकम्पपछि सोनित २२ घण्टासम्म घरभित्रै हराए । आमा घर बाहिर, छोरा भित्र । यतिसम्मकी आमा रश्मिलाले आफ्नो छोरा रोएको सुन्न सक्थिन्, तर गर्न सक्ने थिइनन् । छोराको रुवाइ सुन्दा रश्मिलालाई कति पीडा बोध भयो होला । जसको उनी कल्पना पनि गर्न सकिदैन ।
आइतवार बिहान नेपाली सेनाको कुशलताले अर्को अचम्म तुल्याइदियो । छोराको आश मारिसकेकी रश्मिलालाई नेपाली सेनाले आइतवार बिहान १० बजे उनको ४ महिने छोरा हातमा थमाइदियो । जब रश्मिलाले हर्षआँशुु चुहाउँदै छोरालाई हातमा लिइन्, तब सबै भूकम्पको पीडानै बिर्सिएर खुसी भए । बालकको भने टाउकोमा सानो चोट बाहेक अरु केहि भएको थिएन ।
शनिबार गएको भूकम्पले बालकदेखि वृद्धवृद्धासम्म कसैलाई बाँकी राखेन । कतै सुतेकै ठाउँमा आमा छोरीले ज्यान गुमाए त कतै सिंगो परिवारै सखाप भयो । सेना र प्रहरीको टोलीले ६ दिनसम्म जीवितै रहेकाहरुलाई समेत उद्धार गरेर जीवनदान दिन सफल भएको छ । उद्धारले तीब्रता नपाउँदा जीवनको भीख मागिरहेका कतिपयले भग्नावशेषमै प्राण त्याग्न विवश भएका छन् ।
सोनितलाई नेपाली सेनाले भग्नावशेषबाट जीवित निकालेको फोटो पत्रकार अमुल थापाको क्यामेराको लेन्समा अटाउन सफल भयो । उनकै सहयोगमा सेनाले सोनितलाई उद्दार ग¥यो । पत्रकार थापाले पनि जीवनमा सबैभन्दा ठूलो खुसी मिलेको प्रतिक्रिया दिएका छन् । जुन अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चाको विषय बनिरहेको छ ।




















प्रतिक्रिया