४ कार्तिक २०८३, बुधबार

पहिरो खस्न थालेपछि बाँचिदैन भन्ने लाग्यो तर भगवानले बचाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १८ वैशाख । पाँच दिन हराएर सम्पर्कमा आएका तनहुँ जिल्ला दमौलीका लोकराज सेढाईंले शनिबारको भूकम्प आफूलाई दोहोरो ‘फायरिङ’जस्तो भएको बताउनुभयो । “ढुङ्गामुढा खस्यो, पर्खाल भत्क्यो, पृथ्वी हल्लियो अनि बल्ल भुइँचालो आएको थाहा भयो”, भूकम्पपछि सम्पर्कविहीन हुनुभएका उहाँले भन्नुभयो ।

वैशाख १० गते बेलुका तनहुँको दमौलीस्थित सर्वकल्याण सहकारी संस्थाबाट चीनको स्वशासित क्षेत्र खासाका निम्ति निस्कनुुभएका उहाँ भोलिपल्ट पशुपति दर्शन गरेर खासा जानुभएको थियो । शनिबारको भूकम्पपछि उहाँहरु डाँडामा फसेर सम्पर्कविहीन हुनुभयो । भ्रमण टोलीमा २६ जना हुनुहुन्थ्यो ।

“भुइँचालो आएपछि चीन नजिक लिपिङडाँडामा बसिरहेका थियौँ, डाँडाको पहिरो खस्न थालेपछि अब बाँचिदैन भन्ने लागेको थियो, भगवान्ले बचाए”, घटना विवरण सुनाउँदै सेढाईंले भन्नुभयो ।

भुइँचालो आउँदा चीन वा नेपाल कतै भाग्ने ठाउँ नभएको हुँदा के गर्ने भन्ने निर्णय गर्न सकिएन । उहाँले भन्नुभयो, “सबै रोइरहेका थिए, चिच्च्याइरहेका थिए ।”

मोबाइल फोनमा नेटवर्क थिएन, कतै सञ्चार सम्पर्क हुन सकेन । डाँडामा जाग्राम बसेर रात कटाएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामीलाई बाँच्छौँ भन्ने आश थिएन ।”

आफूहरुको टोलीमा एक जना घाइते, एक जना वृद्धा र एक जना बालिकासमेत रहेको जानकारी उहाँले दिनुभयो । टोलीमा हिँड्न नसक्नेलाई प्रहरीसँग सल्लाह गरेर नारायणस्थानमा नै छोडिएको थियो जसलाई पछि हेलिकप्टरले उद्धार गरेर बाह्रबिसे ल्याएको थियो ।

भ्रमण टोलीमा रहनुभएका दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले सो टोली सम्पर्कविहीन भएपछि उद्धारका लागि सरोकारवालासँग पटक–पटक आग्रह गरिएको बताउनुभयो । “भूकम्पले बेपत्ता भएको खबरले हामीहरु चिन्तित भएका उद्धारलाई हारगुहार ग¥यौँ, उहाँहरु बाचेर आउनुभयो, खुसी लागेको छ”, बस्नेतले भन्नुभयो ।

सो ठाउँमा अमेरिकी, बेलायती, भारतीय र चिनियाँ गरी करिब १० पर्यटक फसेका थिए । भ्रमण टोलीमा जानुभएका सबै अहिले आफ्नो घर दमौली पुग्नुभएको छ ।

शिविरका कारण चारसयको ज्यान जोगियो

स्नो लायन फाउन्डेसन र बिपी चिन्तन प्रतिष्ठानद्वारा संयुक्त रुपमा सिन्धुपाल्चोकको लिस्ती गाउँ विकास समिति वडा नं ८ स्थित छगाम गाउँमा सञ्चालित स्वास्थ्य शिविरका कारण यस गाउँका आनी, भिक्षुणी तथा सर्वसाधारण गरी करिब ४०० जोगिएका छन् ।

ती दुवै संस्थाले वैशाख ११ र १२ गते स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । शिविर संयोजक डा प्रकाश बुढाथोकीले दिनुभएको जानकारीअनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका कारण ती क्षेत्रका जनता भूकम्पबाट जोगिएका हुन् ।

लिस्ती, बगम, गोम्बा, धारापानी, स्वाम्बुङ, छयाङसिन, गिम्से, कङलङ, दुधुले गाउँका जनता शिविरमा आएका थिए । विविध कारण शिविरमा नआई घरमै बसेकाको घरमा पुरी मृत्यु भएको र कति जनाको मृत्यु भयो जानकारी प्राप्त हुन नसकेको शिविरबाट आजमात्र फर्किएका डा बुढाथोकीले जानकारी दिनुभयो ।

“हामीले घरमा च्यापिएका १९ जनालाई जीवितै उद्धार गरी शिविरमा ल्याई उपचार ग¥यौँ”, शिविरका औषधि व्यवस्थापक ध्रुवबहादुर पाण्डेले भन्नुभयो ।अविरल वर्षाका कारण सो क्षेत्रमा उद्धार कार्यमा समस्या परेको उहाँले जानकारी दिनुभयो । हालसम्म कोदारी राजमार्ग सञ्चालन हुन सकेको छैन भने बाह्रबिसे क्षेत्रमा भूकम्पपीडितको उद्धार हुन सकेको छैन ।

बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा छगाम गाउँ प्रसिद्ध रहेको छ । छगम गुम्बा अवतारी लामाको अर्को स्वरुप भएको विश्वास गरिन्छ । गुम्बाका करिब २५९ आनी सबै स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका कारण जोगिएको संयोजक पाण्डेले जानकारी दिनुभयो । रासस