– सुदीप अधिकारी
बर्दिया, १८ बैशाख । रसुवा जिल्लामा कामका लागि गएको बर्दियाका २ जना युवाको अवस्था अज्ञात रहेको छ । भूकम्प गएको एक साता बित्दा पनि उनीहरुको बारेमा परिवारले केही जानकारी पाउँन सकेका छैनन् । बेपत्ताहरुको अवस्था बारे केही जानकारी नपाउँदा परिवारका सदस्य चिन्तामा डुबेका छन् ।
रसुवाको मैलुङ्गमा सडक निर्माणका लागि गएका नेउलापुर– ५ डुम्रेनीका रतीराम थारु र सुर्यपटुवा- ५ टडुवाका रामभरोसे चौधरीको भूकम्पमा परी वेपत्ता भएका हुन् । उनीहरुसँगै रहेका यहाँका २५ जना मजदुर भने परिवारको सम्पर्कमा आइसकेका छन् । सँगै काम गर्ने गाउँका साथीहरु आए । तर, छोराको भने अझै केही अत्तोपत्तो छैन । कसलाई भनु, कहाँ गएर खोजु, वेपत्ता रहेका रतीरामका बाबु गुदुलालले दुखेसो सुनाए ।
मजदुरी गर्न गएको छोरा भूकम्पमा परेर वेखबर भएपछि सिंगो परिवार चिन्तामा डुवेको छ । मजदुरी गर्न सँगै रसुवा गएका गेदुलालका कान्छो छोरा सुवास भने ज्यान जोगाएर घर फर्केका छन् ।
विहानको काम सकेर खाना खान क्याम्पमा जाने क्रममा एक्कासी भूकम्प आएको र आफुहरु क्याम्प बाहिरै रहेकाले ज्यान बचेको सुवास थारुले बताए । भूकम्पको घटना प्रत्यक्ष देखेका रतीरामका भाई सुवासले घटना सुनाउँदै भने, ‘पहिलो समुहका साथीहरु खाना खाएर क्याम्पमा आराम गर्दै थिए । हामी भने बाहिर थियौ । त्यसैबेला भूकम्प आयो । नजिकैको पहाड खसेर क्याम्प नै पु¥यो । हामी बाहिर भएका भागाभाग गरेर ज्यान जोगायौँ ।’ क्याम्प भित्र रहेका केही पनि बाँचेको हुन नसक्ने उनले बताए ।
सडक निर्माण भइरहेको रसुवाको मैलुङ्गमा अत्यन्त विकट मानिन्छ । भूकम्पका कारण पहाडनै सकेकाले यतीखेर त्यस क्षेत्रमा पैदल जान सम्भव नरहेको बताइएको छ । भूकम्प गएको एक साता बित्दा पनि छोराको बारेमा कुनै जानकारी नआउँदा परिवारले झिनो आशा पनि टुटदै गएको छ । अज्ञात रहेका रतिराम र रामभरोसेको अवस्था बारे पत्ता लगाई दिन परिवारले आग्रह गरेका छन् ।
















प्रतिक्रिया