
कैलाली, २९ जेठ । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएको दावी गरेका छन् ।
टीकापुर घटनामै सजाय कटाइरहेको चौधरीले आफू दोषी नभएको प्रष्टीकरण दिएका छन् । उनले घटनाको वास्तविकता राज्यलाई नै थाहा नभएको बताए ।
चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’
रन्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनको भनाइ छ ।
२०७२ साल भदौ ७ मा विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । घटनामा एक बालकको पनि मृत्यु भएको थियो ।
उक्त घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । यद्यपि चौधरीले आफू निर्दोष रहेको बताउँदै आएका छन् ।
‘पछिल्लो पटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व–वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपनि अझै हामी जेलमा छौँ । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने ? पूर्व र वर्तमान प्रधानमन्त्रीज्यूहरू वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पन्छिन पाइन्छ ?’ चौधरीको प्रश्न छ ।
सरकराले घटनाबारे यथार्थ रिपोर्ट समेत सार्वजनिक नगरेको आरोप छ ।
‘टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो’ उनले लेखेका छन्, ‘आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भूल स्वीकार्नु होइन ?’
चौधरीले घर, गाडी सञ्चालन गरेको रिपोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा नष्ट भएको भन्दै टीकापुर घटनामा आफ्नो भौतिक सम्पत्ति समेत नष्ट भएको बताएका छन् ।
उनले अन्तिममा लेखेका छन्, ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।’















प्रतिक्रिया