
पोखरा, २७ जेठ । पोखरामा छैठौं शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ ।
हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ । प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ ।
विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान रहेको अर्थ संकलन उपसमिति संयोजक जगत थापाले जानकारी दिए ।
क्लबको भावि योजना अन्तरगत शुभकामना गोल्डकपलाई निरन्तरता दिने, खेलमैदानमा प्यारापिट निमार्णमा पहल, विभिन्न खेलकुदलाई विद्यालयमा जोड्न समन्वयकारी भुमिका खेल्ने रहेको छ । हेम्जा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेता समेत हो ।















प्रतिक्रिया