काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पपीडितका लागि विश्वासिलो एवम् चुस्त प्रकारको संरचना र कार्य प्रणाली निर्माण गरी उद्धार र राहतमा समयमै प्रभावकारी पहल कदमी लिन सरकारसँग आग्रह गर्नुभएको छ ।
नेता नेपालले आज प्रेस विज्ञप्ति जारी गरी संसारभरका प्रविधिसहित आवश्यक सहयोग जम्मा गरी प्रकोप पीडितको अपेक्षा पूरा गर्न सरकारले कुनै विलम्ब गर्न नहुने जनाउनुभएको हो ।
नेता नेपालले विज्ञप्तिमा भन्नुभएको छ, “जनताले पीडितको साथमा सरकार छ भन्ने वातावरण निर्माण गर्नुपर्छ । यस कार्यमा थप गति एवम् थप प्रभावकारी रुपमा जुट्न र राज्यका सबै अङ्गहरुको प्रभावकारी परिचालन हुनुपर्छ ।”
यसैबीच आजै नेता नेपाल काठमाडौँको पूर्वी भेग शङ्करापुर नगरपालिकाको फुलालटार पुग्दा स्थानीय केही व्यक्तिहरुले भूकम्पपीडितहरुलाई सरकारले अहिलेसम्म कुनै राहत उपलब्ध नगराएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
सो नगरपालिकामा अहिलेसम्म १०२ को मृत्यु र १२३ जना घाइते भएको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया