
काठमाडौं, २५ जेठ । नेपालको आर्थिक रूपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरू फष्टाउन सके मात्रै अर्थतन्त्र समृद्घ हुने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको हिजो मंगलबार राजधानीमा आयोजित ३३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्नेमा जोड दिँदै सो कुरा बताएका हुन् ।
नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरूले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए ।
साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरूपलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरू समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरू क्रियाशील बनौं ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७ वटै प्रदेश, ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए । उद्यमीहरूका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले ६ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरूलाई सरकारले मान्यता दिएर ती उद्योगीहरूको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको भन्दै उनले भने, ‘ती समितिहरूमा साना उद्योगीहरूको समस्या र आइपरेका समाधानका उपायहरू अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’
महासंघका पूर्वध्यक्ष सुरेश प्रधानले ३२ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारित उद्योग व्यवसायको प्रवर्द्घनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्वध्यक्ष वासु गिरी, पूर्वध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेल, उपाध्यक्षहरू हरिहर थापा, शोभा गुरुङ, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया