भीमदत्तनगर, १८ वैशाख । गएराति करिब २ बजे आएको हुरीबतासका कारण कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
हुरीबतासका कारण घरमा रूख ढल्दा कृष्णपुर गाविस–२ नयाँ बस्तीका ५५ वर्षीया सरस्वती धामीको मृत्यु भएको हो । मध्यरातमा आएको भयानक हुरीबतासका कारण जिल्ला प्रहरी कार्यालयका जवान बस्ने भवनमा समेत क्षति पुगेको छ । कार्यालय परिसरमै रहेका रूख र रूखका हाँगा ढल्दा प्रहरी भवनमा क्षति पुगेको हो ।
त्यसैगरी छानामा रूख ढलेपछि सुतिरहेका एक प्रहरीसमेत घाइते भएका छन् । वडा प्रहरी कार्यालयका अनुसार भीमदत्तनगरपालिका–१८ भगतपुरमा पनि हुरीबतासका कारण एक महिला घाइते भएका छन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले हुरीबतासका कारण अधिकांश कच्ची घर क्षति पु¥याएको बताउनुभयो । साथै अधिकांश क्षेत्रमा रूख ढल्दा विद्युत् सेवा क्षतविक्षत बनेको छ ।
“टिन र टाइलका छाना भएका घरहरु प्रायः सबैमा क्षति पुगेको खबर आएको छ”–उहाँले भन्नुभयो–“विस्तृत विवरण आउन बाँकी छ ।” त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले हुरीबतासका कारण क्षति पुगेको बताउनुभयो । “हुरीबतासका कारण प्रहरी युनिटभित्रै समस्या भएको छ”–उहाँले भन्नुभयो–“ठाउँठाउँमा रूखहरु ढलेर विद्युत्, टेलिफोनका साथै सडकसमेत अवरुद्ध भएको छ ।”















प्रतिक्रिया