
काठमाडौं, २४ जेठ । सीता अर्यालको गीतसंग्रह ‘अनुपमा’ सङ्गीतको दुनियाँमा शब्दका माला खोज्नेहरूको लागि उपयोगी कृति हो ।
९९ पृष्ठको यो किताबमा ८१ वटा गीत समावेश छन् । विएन पुस्तक संसारले प्रकाशित गरेको यो कृतीमा सन्तोष दाहालले कलात्मक र आकर्षक आवरण दिएका छन् ।
कुन गीतले कसलाई छुन्छ भन्ने कुरो आआफ्नो भोगाइ, स्वाद र आकांक्षाले निर्धारण हुन्छ । त्यसमाथि शब्दमा सङ्गीत कसरी भरिन्छ भन्ने कुराले पनि गीत कुन गतिमा श्रोतासमक्ष छाउन सक्छ भन्ने हो ।
हिन्दी गीतका एक प्रशिद्द गीतकार प्रशुन जोशीले एकपल्ट भनेका थिए – सङ्गीत भनको कस्तो गिलासमा पेय पदार्थ राख्ने भन्ने हो, तर शब्द भनेको पेय पदार्थ स्वयम् हो । आखिर गिलास जस्तै भए पनि पेय पदार्थ अथवा शब्द मीठो र मन छुने हुनै पर्छ । ‘अनुपमा’ मा भएका शब्दका मालारुपी गीतहरूमा मैले पनि मनपर्ने हारहरू भेटें ।
गीतहरू धेरै जस्तो प्रेम, ममता, मानवीय सम्बन्ध, सम्झनाहरू र जीवन अनुभूतीकै सेरोफेरोमा रचिएका छन् । गीतका विशेषता सरल शब्द, बोलीचालीकै भाषा र चिर परिचित विम्बहरूको प्रयोगमा छ । बिषयगत विविधता नभएपनि एउटै विषय, जस्तै प्रेम – मा धेरै कोणबाट रचिएका गीत पाइन्छ । त्यसो हुनाले हरेक पाठकलाई कुनै न कुनै गीत घत लाग्ने सम्भावना प्रवल छ ।
गीत ‘आँखा प्यास’ का स्थायी यी पंक्ति –
“हेर्नमन लाग्दो रै’छ बोल्ने आँट नभए’नि
आँखा प्यास मेट्दो रै’छ छुने आँट नभए’नि”
अनि ‘साथ देऊ’ का स्थायी यी पंक्ति –
“चोखो माया दिलमा भए तिम्रो हात देऊ
किन बस्ने एक्लाएक्लै आऊ साथ देऊ “
सरल, सरस भाषामा रोमान्टिक मानवीय मनको प्रत्यक्ष प्रष्फुटन हुन् ।
‘एक्लो यात्रा’ को अन्तराका यी पंक्तिहरूले –
“जिन्दगानी रै’छ केवल आँखाका रमिता
पुस्तौंपुस्ता चलिजाने अविरल सरिता”
एक्लै जिन्दगी बिताउनेका आँखाबाट जीवनानुभूतीलाई पस्किएको छ ।
‘विश्वास’ को अन्तरामा
“नहोस हाम्रो जिन्दगानी शिशिरको रुख जस्तै
गुँडविहिन निरीह ती आकाशका पन्छीजस्तै “
सरल तर गहन विम्बको प्रयोग छ । शिशिरको रुख प्रचलित विम्ब भएपनि गुँडविहिन निरीह आकाशका पन्छीसँग लगत्तै जोड्दा मन छुने भएको छ । तर कुनै कुनै ठाउँमा विम्ब आफैंमा राम्रो भए पनि प्रचलित नेपाली गीतहरूमा धेरै पल्ट सुनिएको विम्ब प्रयोग भएको पनि छ।
‘माया’ को अन्तरामा
“मन दु:खे उडिजाला सिमलको भुवासरी
क्षितिजमाथि रम्न मन छ डाँफेचरी सरी”
यस्ता विम्ब भने आफैमा राम्रा भएपनि नौलोपनको हिसाबले नयाँ पस्कन सक्ने अवसर गुमेको देखिन्छ । समग्रमा संग्रहको शक्ति पनि सरलतामा र सुधार्न सकिने पनि विम्बहरूको चयन र सशक्तिकरणमा देखिन्छ ।
कला साहित्यमा विभिन्न कोणबाट, तप्काबाट, पुस्ताबाट, क्षेत्रबाट सिर्जना आइरहनु पर्छ । कृतिहरूले साहित्यको इतिहास कोर्दै जान्छन् । यो कृतिले पनि नेपाली साहित्य, कला, गीतको इतिहासमा विशिष्ट डोबहरू कोरेको छ । सीता अर्यालज्यूलाई गीतसंग्रह प्रकाशित गर्नुभएकोमा बधाई तथा साहित्य यात्रामा शुभकामना ।
काभ्रे, पाँचखाल (हाल : अमेरिका)















प्रतिक्रिया