
काठमाडौँ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका त्रुटिहरु सच्याउन निर्देशन दिएका छन् ।
बिहीबार स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा पार्टीका जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरुलाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीले स्थानीय तहको निर्वाचनमा भएको गम्भीर गल्ती र त्रुटीलाई अव नदोहोर्याउने गरी हरेक संगठनभित्र अभियान चलाउन निर्देशन दिएका हुन् ।
त्यस्तै, बैठकमा अध्यक्ष ओलीले ठोस बुँदा पनि केलाएका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनाएका छन् । ‘चुनावमा अपेक्षा गरेअनुसारको परिणाम किन आएन ? को कोबाट बदमासी भयो ? के कस्ता अनुशासनहीन काम भए ? यी सवै कुरालाई मसिनो गरी अध्यक्ष कमरेडले बैठकमा केलाउनु भएको छ,’ बैठकपछि संयोजक ढकालले भने, ‘अनुशासन कायम गराउन कुन तहको उपचार गर्ने ? र कुन तहको डाइड खुवाउनु पर्ने हो त्यो काम पार्टीले गर्ने प्रष्ट खाका राख्नुभएको छ ।’
बैठकमा अध्यक्ष ओलीले झण्डै दुई घण्टा सम्बोधन गरेका थिए । निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा पार्टीभित्रै घात भएको कुरादेखि सरकारी तवरबाट भएको धाँधली र मतको सुरक्षामा देखिएको कमजोरीलाई अध्यक्ष ओलीले मसिनो गरी केलाएका छन् ।
यी सबै पक्षहरुलाई सुधार्दै आगामी निर्वाचनमा जान विशेष तयारी गर्नुपर्नेमा ओलीले जोड दिएका छन् ।
अध्यक्ष ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल सहभागी भएको बैठकले आगामी निर्वाचनलाई केन्द्रित गरेर वडा र टोलसम्म आफ्नो संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
बैठकले देशभर भएको धाँधली र बुथ कब्जा तथा एमाले कार्यकर्ताको हत्याप्रति खेद ब्यक्त गर्दै सत्ता गठबन्धनको अपराधलाई जनतामाझ लैजाने निर्णय गरेको सहसंयोजक रचना खडकाले जानकारी दिइन् ।
















प्रतिक्रिया