
काठमाडौं, १९ जेठ । हलीवुड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका छन् ।
छ साता लामो सुनुवाइका क्रममा ती दुई हलीवुड स्टारहरूले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका नराम्रा खाले आरोपहरू लगाएका थिए । एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ ।
अन्ठाउन्न वर्षे डेपविरुद्ध उनकी ३६ वर्षीया पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा लगाएकी थिइन् । त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको छ । तेस्रो मामिलामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको बीबीसी नेपालीले समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसार सुनुवाइका क्रममा सन् २०१७ मा सम्बन्धविच्छेद भएका उनीहरूले आफूहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो भन्ने खुलाएका थिए । छ साताभन्दा लामो सुनुवाइका क्रममा भर्जिनियाको फेयरफ्याक्सस्थित अदालतले डेप र हर्डको अस्थिर विवाह र त्यसको दुःखद अन्त्यको चर्को विवरण सुन्नुपर्यो ।
कतिपय सर्वेक्षणका अनुसार अधिकांश अमेरिकीहरूले युक्रेन युद्ध वा अमेरिकी सर्वोच्च अदालतबाट कुनै पनि दिन आउन सक्ने गर्भपतनसम्बन्धी निर्णयभन्दा ती दम्पतीबारे अदालतमा चलेको जुहारीमा चासो राखेका थिए । अदालतले हर्डले आफ्ना पूर्वपतिविरुद्ध अखबारी लेखमा लगाएका आरोपहरू गलत रहेको पत्ता लगाएको थियो ।
उसले हर्डले आफ्न पूर्वपतिविरुद्ध द्वेषपूर्ण व्यवहार गरेको भन्ने ठहर गरेको छ । यद्यपि हर्डबारे डेपका एकजना वकिलले लेखेको लेखले उनको मानहानि गरेको ठहर पनि अदालतले गर्दै त्यसका लागि २० लाख डलर क्षतिपूर्ति तोकिदिएको छ ।
जोनी डेपले अदालतको आदेशलाई स्वागत गर्दै ‘जुरीले आफ्नो जीवन फिर्ता दिएको’ बताए । उता एम्बर हर्डले भने ‘बोल्ने महिला सार्वजनिक रूपमा अपमानित हुन सक्छन्’ भन्ने देखाएको प्रतिक्रिया दिएकी छन् ।















प्रतिक्रिया