काठमाडौँ, १७ वैशाख । भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् ।
सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्ने उहाँहरुको मत छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावना नरहेको विज्ञहरुले जानकारी दिनुभयो ।
नास्टका सहप्राज्ञ डा रञ्जनकुमार दाहालले नास्टले अन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबार अपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएको उहाँले जानकारी दिनुभयो ।
सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहन पनि आग्रह गर्नुभयो । भूकम्पले घिचिक घिचिक पार्नसक्छ यस्तो अवस्थामा नआत्तिई बस्न उहाँले सुझाव दिनुभयो ।
चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिनुभयो ।
भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएका ठाउँमा नजान सुझाव दिँदै उहाँले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पको सम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो ।
चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारी आउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेर पिउन र खाना खानुअघि हात धुन सुझाव दिनुभयो ।
चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिनुभयो ।
सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्म दिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोले पुर्न सुझाव दिनुभयो । उहाँले पानी र खानाका कारण रोग आउने हुँदा ती दुई वस्तुमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो । रासस















प्रतिक्रिया