महेन्द्रनगर, १६ वैशाख । गत शनिबार गएको महाभूकम्प पीडितहरुका लागि कञ्चनपुरमा शुक्रबारबाट संयुक्त रुपमा राहत संकलन गरिने भएको छ । जिल्ला विकास समितिको सभाकक्षमा बुधबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले भूकम्प पीडितहरुका लागि संयुक्त रुपमा राहत संकलन गर्ने निर्णय गरेको हो ।
बैठकले राहत संकलन सहज बनाउन नेपाली काँग्रेस कञ्चनपुरका सचिव भोजराज बोहराको संयोजकत्वमा पाँच सदस्यीय सचिवालयपनि गठन गरेको छ । सचिवालयमा नेकपा एमालेका जिल्ला सचिव सुरेन्द्र बिष्ट, एकीकृत नेकपा माओवादीका सचिव गोपाल रसायली, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण तिवारी र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशी सदस्य रहनुभएको छ ।
संयुक्त समितिले शुक्रबार सदरमुकाम महेन्द्रनगर, गड्डाचौकी र भाँसी क्षेत्रमा, १९ गते सुडा, दैजी, झलारी हुँदै कृष्णपुर गाविसको गुलरियासम्म राहत संकलन गर्ने कार्यक्रम छ । यस्तै २० गते डोकेबजार, आईबिआरडी, टाउन बजार हुँदै बेलौरीसम्म र बैसाख २१ गते दोधारा–चाँदनी गाविसमा राहत संकलन गर्ने निर्णय गरेको काँग्रेस कञ्चनपुरका उपसभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य गाविसमा सबै राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताहरुलाई संयुक्त रुपमा खटाएर भूकम्प पीडितहरुका लागि राहत संकलन गरिने छ । बैठकले भूकम्प पीडितका नाममा छुट्टाछुट्टै समुह बनाएर राहत संकलन गर्नेहरुलाई सर्वदलीय–सर्वपक्षीय राहत संकलन अभियानमा जोडिन आग्रह गरेको उपसभापति बोहराले जानकारी दिनुभयो ।
यस्तै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीले सर्वदलिय–सर्वपक्षीय राहत संकलन अभियानमा सक्दो आर्थिक तथा जिन्सी सामाग्री सहयोग गर्न ब्यापारीहरुलाई आग्रह गर्दै छुट्टाछुट्टै समुह बनाएर आउनेहरुलाई सहयोग नगर्नपनि ब्यापारीहरुलाई सचेत गराउनुभएको छ ।
यसैबीच कञ्चनपुरमा रहेको लायन्स क्लवहरुले भूकम्प पीडितका लागि एक लाख रुपैयाँ संकलन गरेका छन् । कञ्चनपुरमा रहेको पाँच वटा लायन्स क्लवका झण्डै एक सय सदस्यहरुले राहत स्वरुप एक लाख रुपैयाँ संकलन गरेका हुन् ।
संकलित रकमबाट जिन्सी सामान खरिद गरेर सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई प्रदान गरिने लायन्स क्लव अफ महाकालीका सचिव मंगल रेग्मीले जानकारी दिनुभएको छ ।
यसैगरी कञ्चनपुरको सुडा गाविसमा पर्ने सिसैयास्थित भम्केश्वर कृषी सहकारी संस्थालेपनि भूकम्प पीडितहरुका लागि झण्डै १६ हजार रुपैयाँ राहत स्वरुप संकलन गरेको छ । सदस्यहरुले संकलन गरेको १० हजार आठ सय ८८ रुपैयाँमा पाँच हजार थपेर सहकारीले झण्डै १६ हजार रुपैयाँ राहत संकलन गरेको सल्लाहकार भरत रोकायाले जानकारी दिनुभएको छ ।















प्रतिक्रिया