गोरखा, १६ वैशाख । शनिबारदेखि पानीमात्र पिएर ओढारमा बस्नुभएकी गोरखाको सौरपानी गाविस–९ की १८ वर्षीय सुनकुमारी गुरुङलाई उद्धार गरिएको छ ।
चार दिनको छोरीसहित गुरुङलाई हेलिकोप्टरको सहायताले आज अपरान्ह उद्धार गरी उपचारका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको हो । सुत्केरी बेथाले च्यापेकी गुरुङ घरको कोठाबाट बाहिर निस्कन नसकेपछि घरभित्रै पुरिनुभएको थियो । उहाँलाई परिवारका सदस्यले शनिबार दिउँसो २ बजे सकुसल उद्धार गरेका थिए ।
सुत्केरी बेथाले मर्न लागेको थिएँ’ उहाँले पीडा सुनाउनुभयो, ‘त्यहीँ बेला महाप्रलय आयो । घरको गाह्रो पल्टेपछि म पुरिएछु ।’ परिवारका सदस्यहरुले आफूलाई दुई घण्टापछि उद्धार गरेको उहाँले बताउनुभयो ।
घर पुरै ध्वस्त भएपछि उहाँको परिवार घरदेखि एक घण्टा दूरीमा रहेको जङ्गलभित्रको ढुङ्गाको ओढारमा बसेका थिए । ‘बेलुकी ९ बजे छोरी जन्मिए्’ उहाँले भन्नुभयो, ‘घरको गाह्रो भत्केर उछिटिट्टएको ढुङ्गाले दुवै गोडामा गहिरो चोट लाग्यो ।
ओढारमा खानेकुरा केही नपाएको बताउँदै उहाँले पानीमात्रै खाएर बस्नुपर्दा छोरीलाई खुवाउने दूध अपुग भएको बताउनुभएको छ । आकाशमा हेलिकोप्टर उडेको देखेपछि परिवारका सदस्यले गुरुङलाई बोकेर गाउँ झारेका थिए ।
चार दिनकी सुत्केरी गुरुङकी छोरीलाई कमलपित्त रोग लागेको छ । त्यो रोगको उपचार गोरखा जिल्ला अस्पतालमा सम्भव भएन । पैसो नपाएपछि अस्पतालबाट गाउँ फर्कने सोच बनाउनुभएकी उहाँलाई काठमाडौेंका पर्यटन व्यवसायी राजेन्द्र बजगाइँले आर्थिक सहयोग गर्नुभयो ।
बजगाइँले गुरुङ परिवारलाई छोरीको उपचारमा खर्च गर्न आग्रह गर्दै रु २० हजार आर्थिक सहयोग गर्नुभएको हो । जिल्ला अस्पताल गोरखामा पुगेर बजगाइँले गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको छ । गुरुङकी छोरीको उपचारमा लाग्ने अन्य खर्च बजगाइँले दिने बताउनुभयो ।
त्यस्तै उत्तरी गोरखाको लापु गाविस–६ खानीगाउँमा अझै घाइतेहरु छटपटाइरहेका छन् । उद्धारका लागि गएको भारतीय वायुसेना निगमको हेलिकोप्टर अवतरण गर्न नसकेपछि घाइतेहरुलाई उद्धार गर्न नसकिएको हो ।
हेलिप्याड नभएकाले अवतरणमा समस्या भएको गोरखास्थित नेपाली सेनाको गुल्मले जनाएको छ । भोलि चारसिटे हेलिकोप्टर त्यस क्षेत्रको घाइते उद्धारका लागि जाने बताइएको छ । त्यस्तै लापु गाविसको मिनिङ खोला आसपासमा पाँचजना घाइते छन् । उनीहरुको भोलिमात्रै उद्धार हुने बताइएको छ । आज अपराह्न पानी परेपछि उद्धारमा कठिनाइ भएको छ ।
उत्तरी गोरखाको विभिन्न गाविसबाट २२४ जना घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ । त्यस्तै १५ जना घाइतेलाई उपचारका लागि काठमाडौँ र १२१ जनालाई गोरखा जिल्ला अस्पतालमा लगिएको छ ।
अहिलेसम्म गोरखा जिल्लाभर ४०५ जनाको शव भेटिएको छ । अझै ५० भन्दा बढी घाइतेलाई उद्धार गर्न बाँकी छ । भोलि बाँकी रहेका घाइतेलाई उद्धार गरिने गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिम्सिनाले बताउनुभयो ।
महाभूकम्पले धेरै जनधनको क्षति पु¥याएको सिम्जुङ, बारपाक, लाप्राक, गुम्दालगायतका गाविसमा प्रारम्भिक चरणमा राहत पु¥याइएको छ । त्यस्तै गोरखा नगरपालिका, पालुङटार नगरपालिका र गाविसमा सडक सञ्जालमार्फत राहत सामग्री पठाइएको छ । रासस















प्रतिक्रिया