४ कार्तिक २०८३, बुधबार

एमाले अध्यक्ष ओलीसहितको टोली अचानक किन पुग्यो बालुवाटार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-uml-meeting
फाइल फोटो

काठमाडौँ, १६ वैशाख । महाभूकम्प पीडित जनतालाई अझै उद्दार तथा राहत मिल्न नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको जम्बो टोली आकस्मिक रुपमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ ।

बुधबार साँझ साँढे ६ बजे बालुवाटार पुगेका एमाले नेताहरुले भूकम्पपीडितका लागि सरकारका तर्फबाट गरिएका प्रयासमा प्रधानमन्त्रीको नेतृत्व फितलो भएको भन्दै उद्दार र राहतलाई प्रभावकारी बनाउन दबाब दिएको हो । साँढे तीन घण्टासम्म भएको छलफलमा एमाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट १० बुँदे विशेष प्रस्ताव पेश गर्नुभएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

एमालेको १० बुँदे प्रस्तावमा भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति तत्काल १ लाख रुपैंया नगद राहत उपलब्ध गराउन, घर भत्केर बस्ने अवस्था नभएकालाई घर निर्माणका लागि विशेष प्याकेजको व्यवस्था गर्न, घर बाहिर बसेकालाई टेन्ट तथा पालको तत्कालै व्यवस्था गर्न, उनीहरुलाई खाद्यान्न, खानेपानी तथा औषधी उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

यसैगरी, भूकम्पबाट घाइते भएकालाई देशैभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न, निजी अस्पतालमा उपचार गराउन आवश्यक परे आर्थिक सहयोग दिन, भूकम्पबाट भएको क्षतिको दीर्घकालिन योजना बनाइ देशभित्र, मित्रराष्ट्र र दातृसंस्थाबाट समेत सहयोग जुटाइ पुनर्निर्माण र पुनर्स्थापना कार्ययोजना बनाउने लगायतका छन् ।

जबाफमा प्रधानमन्त्री सुशील कोइरालाले तत्कालै मन्त्रिपरिषद् बैठक बोलाएर एमालेका प्रस्तावलाई अघि बढाउने बताउनुभएको थियो । उहाँले एमालेको प्रस्तावको समर्थन समेत गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतम, उपाध्यक्षहरु भीम रावल र विद्यादेवी भण्डारी, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु योगेश भट्टराई र प्रदीप ज्ञवाली तथा सरकारमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको सहभागिता थियो ।