सोल (दक्षिण कोरिया), १६ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले यस वर्ष १५ वरिष्ठ अधिकारीलाई मृत्युदण्ड दिन आदेश दिनुभएको र त्यसमा उहाँका नीतिका विषयमा गुनासो गर्ने व्यक्ति परेको दक्षिण कोरियाको गुप्तचर संस्थाले बुधबार जानकारी दिएको छ ।
यसरी मृत्युदण्ड दिइएकामा दुई उपमन्त्रीस्तरका अधिकारी भएको योनहाप समाचार संस्थाले उल्लेख गरेको छ । यस विषयमा दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले संसदमा दिएको जानकारीका विषयमा एक सांसदले उल्लेख गरेका हुन् ।
यी दुबै अधिकारीले नेता किमले दिएको निर्देशनको विरोध गरेको वा त्यसमा गुनासो गरेको ती सांसदले बताए । एक उपमन्त्रीले उत्तर कोरियाली नेता किमको कृषि जमिनलाई सिकार प्रयोजनका लागि बनमा परिणत गर्ने योजनाको विरोध गरेको ती सांसदले जानकारी दिए ।
यी १५ वरिष्ठ अधिकारीका साथमा उत्तर कोरियाको उनहासु अर्केस्ट्राका चार सदस्यलाई पनि मृत्युदण्ड दिइएको दक्षिण कोरियाली गुप्तचर संस्थाले जानकारी दिएको छ । उक्त अर्केस्ट्रामा कुनै बखत किमका पत्नी री सोल–जुले पनि गायकको रूपमा काम गरेको बताइएको छ ।
यी व्यक्तिहरूले गुप्तचरी गरेको आरोपमा उनीहरूलाई गोली हानी मार्ने समूहले मृत्युदण्ड दिएको एनआईएसले जानकारी दिएको बताइएको छ ।
सन् २०१३ मा जापानी तथा दक्षिण कोरियाली आमसञ्चारले यस अर्केस्ट्राका अनेकौँ सदस्यलाई अश्लील चित्रसम्बन्धी कानुन अनुसार मृत्युदण्ड दिइएको समाचार दिएका थिए । उक्त कार्य नेता किमका पत्नीको इज्जत जोगाउन गरिएको समाचारमा बताइएको थियो ।
नेता किमका वंशले उत्तर कोरियामा गत छ दशकदेखि निकै कडा शासन सञ्चालन गरेका छ । रासस/एएफपी
















प्रतिक्रिया