४ कार्तिक २०८३, बुधबार

एमाले मुख्यालय बल्खु कामै नलाग्ने गरी क्षतिग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, १६ वैशाख । शनिबारको महाभूकम्पले राजनीतिक दलका कार्यालयहरुमा नराम्रोसँग क्षति पुगेको छ ।

प्रमुख दलहरुमध्येको नेकपा एमालेको पार्टी कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ । एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय कामै नलाग्ने गरी भत्किएको एमाले केन्द्रीय सदस्य एव प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यालयको मुख्य बिम नै बांगिएकाले कार्यालयमा अब काम गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयमा क्षति पुगेपछि एमाले केन्द्रीय सचिवालयको बैठक भूकम्पको भोलिपल्ट पार्टी कार्यालयको चौरमा बसेको थियो । त्यस यता सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट नेताहरुले समन्वय गरिरहेका छन् । एमाले महासचिव पोखरेलले भूकम्पका विषयमा पार्टीले गरेका काम र राहत कोषका विषयमा बुधबार संसदीय दलको कार्यालयबाटै संचारकर्मीलाई जानकारी गराउनुभएको थियो । पार्टी कार्यालय क्षतिग्रस्त हुँदा समेत भूकम्प गएको भोलिपल्टै आफूहरुले भूकम्पले पुगेको क्षति, पीडितहरुको अवस्था, राहत र उद्दारका विषयमा छलफल गरी सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । एमालेले भूकम्प पीडितका लागि बनाएको कोषमा पार्टी कार्यकर्ता तथा शुभेच्छुकबाट पचास लाख रुपैंया जम्मा भइसकेको उहाँले बताउनुभयो ।

बल्खुमा चक्रपथभित्र ७ रोपनी क्षेत्रफलमा रहेको पार्टी कार्यालय साँघुरो हुन थालेपछि एमालेले यसअघि नै चक्रपथ बाहिर हालको भन्दा तेब्बर बढी क्षेत्रफलमा अत्याधुनिक टावरसहितको कार्यालय खडा गर्ने निर्णय तयारी गरेको थियो । एमाले महासचिव पोखरेलले २०७२ सालभित्र नयाँ भवन बनाउने गरी यसअघि नै केन्द्रीय कमिटी बैठकमा कार्ययोजना पेश गर्नुभएको थियो । हालको कार्यालयसँगैको १५ आना जग्गा ०६८ सालमा किनेर त्यहाँ अर्को भवन बनाउने तयारी एमालेले गरेको थियो । त्यसका लागि तत्कालीन अध्यक्ष झलनाथ खनालले नयाँ भवनको शिलन्याससमेत गर्नुभएको थियो । तर, साँघुरो भएको भन्दै सो भवन निर्माण कार्य स्थगित भयो ।

काँग्रेस र एमाओवादीको पार्टी कार्यालयमा भने सामान्य क्षति पुगेको छ । यी दुवै पार्टीका कार्यालय भवन नयाँ भएकाले कम क्षति भएको हो ।