
काठमाडौं, ६ जेठ। सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ ६ महिनासम्म यौन शोषणको विषयलाई प्रहरीले निगरानीमा राखेको छ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले अहिले सामाजिक सञ्जाल, मिडिया र पीडित स्वयम्ले गरेको बयानबाजीको विषयलाई निगरानीमा राखेर पीडक भनिएकाहरूबारे पनि अनुसन्धान जारी राखेको बताएका छन्।
बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडितले आफू १६ बर्षको उमेरमा रहँदा भएको उक्त घटनाले लामो समयसम्म डिप्रेशनमा राखेका पनि उल्लेख गरेकी थिइन्।
‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताकी उन फस्ट रनरअप पनि हुन्। सक्सेस पार्टीका रुपमा बोलाएर उनलाई एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको बयान छ।
एकैचोटि भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको उनले भिडियोमा भनेकी छन्। आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको र भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएर बारम्बार यौन शोषण गरेको पनि उनको भनाई छ।
‘उनको बयानका आधारमा घटनाबारे अनुसन्धान हुन्छ। यस्तो प्रकरणमा जसले उजुरी दिए पनि हुन्छ। तर, प्रहरीले पनि स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेको छ’, ति उच्च अधिकारी भन्छन्।
एक जना पुरुष साथीलाई यो कथा भनेपछि उनको साथमा आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट मेसेजहरू सुनाएपछि आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाइ छ।
सन् २०१४ देखि हालसम्म लगातार औषधि उपचार र थेरापी गरे पनि आफूमा मानसिक पीडा भइरहेकाले सार्वजनिक गरेको उनको भनाइ छ।
पीडितले उल्लेख गरेको प्रतियोगिता आयोजना गर्ने भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डे भिडियो सार्वजनिक भएपछि सम्पर्कविहीन छन् । बानेश्वरमा कार्यालय चलाउँदै आएका उनले प्रतियोगिता आयोजना गर्दै आएका थिए, त्यस्तै अस्ट्रेलियालगायतका देशमा विद्यार्थी पनि पठाउँदै आएका छन्।















प्रतिक्रिया