६ कार्तिक २०८३, शुक्रबार

रेणु दाहालको परिणाममा जोडिएको राज्यशक्तिको साख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ। मंगलबार दिनभरीसम्म भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेणु दाहाल र विजय सुवेदीको परिणाम लुकामारी गरिरहेको थियो।

बुधबार विहानदेखि दाहालले सुवेदीसँगको मतान्तर फराकिलो बनाउन थालिन्। वडा नम्बर ५ को मत गणनादेखि दाहालको मतान्तर बढ्न थालेको थियो।

सत्ता गठबन्धनको बागीका रुपमा भुईँकटहर चुनाव चिन्हमा जगन्नाथ पौडेल मैदानमा उत्रिए पनि दाहालका लागि राज्य शक्ति सबै परिचालन गरिएको छ।

नेकपा एमालेका नेताहरूले चितवनमा गडबडी भैसकेको आरोप लगाइसकेका छन्। यद्यपि जारी मत गणनाको परिणाम रेणुको पक्ष वा विपक्षमा जाँदा राज्य शक्तिको साखको प्रश्न स्वभाविक बन्नेछ।

दाहालको लविङका लागि नै सत्ता गठबन्धनको बृहत सभा भएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रेणुका पिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले सम्बोधन गरेका थिए।

त्यसअघि रेणुलाई जिताउनका लागि नै गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायत चितवनमा दुई दिनसम्म बसेर कांग्रेसबाट बागी बनेका पौडेललाई फकाउने, प्रलोभन दिने र धम्क्याउनेसहितका गतिविधिमा संलग्न रहेको विवरण सार्वजनिक भएको थियो।

रेणुलाई जिताउनका लागि कांग्रेसलगायतका मतदातालाई प्रलोभनमा पार्न रकम बाँडिएको तथ्य समेत सतहमा आएको थियो। कांग्रेस चितवनका सभापति राजेश्वर खनाल रकमसहित गाडी नियन्त्रणमा परेका थिए।

‘मुलुकको पुरै ताकत रेणुलाई जिताउन लागि परेको तथ्य सबैका सामु छ। प्रधानमन्त्री जस्तो मान्छे निर्वाचन आचारसंहिता तोडेर पुगेका थिए’, उच्च स्रोतले भन्यो,‘यो प्रचण्डको साखसँग पनि जोडिएको विषय हो।’

रेणुको पराजयले आगामी केही महिनामा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डको राजनीतिक पहुँचका विषयमा पनि प्रश्न उठ्ने भएकाले राज्यशक्ति जोडबल गरेर लागेको बताइन्छ।

यसअघि पनि रेणुको जित निकाल्नका निम्ति मतपत्र च्यात्नेदेखि अदालतमा मुद्दासम्म पर्दा सेटिङ भएको थियो।