६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसी कोखबाट राजनीतिक मैदानमा स्वतन्त्र बनेका बालेन्द्र साह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ। चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाको मत परिणामका प्रारम्भिक रुझानले मेयरका प्रत्यासी बालेन्द्र साहको चर्चा थप चुलिएको छ।

मंगलबार विहानसम्मको मत परिणाममा प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितसँग ४६ सयको मतान्तरमा अघि बढेका साहको पारिवारिक राजनीतिक पृष्ठभूमी भने नेपाली कांग्रेससँग जोडिएको छ।

उनका बुवा डा. रामनारायण साह नेपाली कांग्रेसमा योगदान गरेका व्यक्ति हुन्। धनुषाको जनकपुरमा रामनारायण साहले कांग्रेसको दायरालाई फराकिलो बनाएका थिए।

तर बालेन्द्र साह भने काठमाडौंमा स्वतन्त्र उम्मेदवारका रुपमा उठेका थिए। इन्जिनियरिङ र र्याप गायनका क्षेत्रमा चर्चा कमाउँदै राजनीतिक मैदानमा उत्रिएका बालेन्द्रलाई थपिएको नयाँ मत तथा एमालेसँग रुष्ट जनमत जोडिएको अनुमान गरिएको छ।

एमालेले जित निकालेका प्रायः वडामा बालेन्द्रलाई मत गएको तथ्यले पनि उक्त अनुमानलाई साबित गरेको पाइन्छ। उनले १० हजार मत कटाइसकेका छन्।

बालेन्द्रको समर्थनमा मत गणनास्थल राष्ट्रिय सभागृहमा आएका युवा पंक्तिको आश जित नै रहेको छ। कतिपयले भनेका छन्,‘युवाले नेतृत्व गर्नुपर्छ भन्ने मतका आधारमा नै बालेन्द्रको जित हुनसक्छ।’

तर भित्री काठमाडौंको मत गणना नभइसकेका कारणले पनि बालेन्द्रको जित हुने ठोकुवा तत्काल गर्न नसकिने कतिपयको बुझाई छ। यद्यपि, स्वतन्त्र विश्लेषकहरू भन्छन्,‘अहिलेसम्मको मत र अग्रता नै बालेन्द्रको जित हो।’

बालेन्द्र साहले जित निकालेको खण्डमा भने नेपाली राजनीतिमा फरक परिदृश्य देखा पर्ने पनि अनुमान गरिएको छ। दलहरूका लागि युवा नेतृत्व मात्र नभएर लोकप्रिय युवा नेतृत्वलाई अगाडि नसारे विकल्प नहुने स्पष्ट चित्र देखिन सक्ने चुनौति थपिने बताइन्छ।

बालेन्द्रले काठमाडौं महानगर प्रमुखमा जित निकाले परम्परागत दलले नेतृत्वमा अनिवार्य पुस्तान्तरणलाई ध्यान दिनुपर्ने बुझाई सतहसम्म चर्चामा छ।