
नवलपरासीपूर्व, २ जेठ । नवलपरासी पूर्वनवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
२८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिएको थियो ।
यस अगाडिको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशी किरण बस्ताकोटीलाई १५९ मतले पराजित गरेका हुन् । बस्ताकोटी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।
पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा समेत रहेका उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्याइएको थियो । अध्यक्ष पदमा सुनारीले ४ हजार ५९ मत गरेका छन् भने बस्ताकोटीले ३ हजार ९०० मत गरे ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४ हजार २३९ मतका साथ विजयी बनेकी छिन् । त्यस्तै एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुक मगरले ३ हजार ५१९ मत प्राप्त गरिन् ।
गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।















प्रतिक्रिया