
काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेर चम्किरहँदा आफूलाई वैकल्पिक दावी गर्ने विवेकशील साझाको विजोग देखिएको छ ।
मतगणनाको भर्खरैको विवरणअनुसार साहले ७६८ मत प्राप्त गर्दा विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटाले १६ मत मात्रै पाएकी छन् ।
अहिले साहले अग्रता कायम राखिरहँदा बास्कोटाको भने मत नगण्य रहेको छ ।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा विवेकशील पार्टीबाटै काठमाडौँ महानगरको मेयरकी उम्मेदवार बनेकी रञ्जु दर्शनाले पपुलर मत पाएकी थिइन् । तर यसपटक विवेकशील साझालाई भने नराम्ररी धक्का लागेको छ । विवेकशील साझा पार्टी तत्कालीन विवेकशील नेपालीसँग एकतापछि कायम भएको हो । यद्यपि मत भने नबढेको स्पष्ट देखिएको छ ।
अहिले काठमाडौँ महानगर वडा नम्बर ३२ को ७ सय मत, वडा नम्बर १ को ७१० सय मत, वडा नम्बर ४ को २०० तथा वडा नम्बर २ को ४८० मतगणना भइसकेको निर्वाचन अधिकृतले जनाएका छन् ।
जसमा साहपछि नेकपा एमालेका केशव स्थापितले ५५० मत ल्याएका हुन् । त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ४२१ मत ल्याएकी छन् । राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा १६ मतमा सीमित बनेको छ ।
उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ९२० मत ल्याएकी छन् । डंगोलका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाले २०८ मत ल्याउँदा विवेकशील साझा भने ५१ मतमा सीमित बनेको छ ।















प्रतिक्रिया