काठमाडौं, १६ वैशाख । नेपालस्थित जर्मन दूतावासका उच्च कर्मचारीहरूले अध्यागमन विभागको हिरासतमा रहेका लागूऔषध कारोबारी जर्मन नागरिक टिम ग्लेवरलाई हिरासतबाटै भगाउन गरेको प्रयत्न विफल भएको छ।
लागूऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरी निष्कासनका लागि अध्यागमनको हिरासतमा रहेका ग्लेबरलाई दूतावासका कर्मचारीले अपहरण शैलीमा मंगलबार अपरान्ह भगाउने प्रयत्न गरेका थिए।
भेट्ने बहानामा दूतावासको गाडीमा हाल्न लाग्दा अध्यागमनका कर्मचारी र प्रहरीले ग्लेबरलाई दूतावासका कर्मचारीबाट खोसेर फिर्ता ल्याएका थिए। बीच सडकमा तनाव उत्पन्न भएपछि दूतावासका कर्मचारीहरूले आफूले चढेको गाडीसमेत छाडेर भागेका छन्।
जर्मन दूतावासका कर्मचारीहरूले १८सीडी ९ नम्बरको कूटनीतिक गाडी अध्यागमन विभागबाहिर नै राखेर भित्र छिरेका थिए। ग्लेबरसँग केहीबेर कुरा गर्ने भन्दै भेट्ने अनुमति पाएका जर्मन दूतावासका कर्मचारीहरूले जबर्जस्ती उनलाई भगाउने प्रयत्न गरेको अन्नपूर्ण पोष्टले छापेको छ ।
घटनाबारे थाहा पाएलगत्तै परराष्ट्र मन्त्रालयले नेपालका लागि जर्मन राजदूत म्याथिस मेयरलाई मन्त्रालयमा बोलाएको थियो। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले राजदूत मेयरलाई बोलाएर घटनाबारे सोधपुछ गरेको स्रोतले बताएको छ।
परराष्ट्र स्रोतले भन्यो, ‘जर्मन राजदूतले परराष्ट्र सचिव र अध्यगमन विभागका महानिर्देशकलाई भेटेर आफ्नो गल्ती स्वीकारिसकेका छन् । दुई मुलुकको सम्बन्धलाई हितमा राखेर घटनाबारे थप अगाडि नबढाउने भइयो।’















प्रतिक्रिया