काठमाडौँ, १५ वैशाख । राजधानी काठमाडौँमा भूकम्पका कारण निकै ठूलो क्षति पुगेका समाचारहरु आइरहेका बेला यसबाट पर्नसक्ने भौगोलिक असरका बारेमा पनि विभिन्न देशका विज्ञहरुबीच चर्चाहरु सुरु भएका छन् ।
यस भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाई छ । उनीहरुको प्रारम्भिक अनुसन्धानबाट यो तथ्य निस्किएको बताइएको छ ।
गएको शनिबार नेपालमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पबाट अकल्पनीय रुपमा मानवीय तथा भौतिक क्षतिको अनुमान गरिएको छ ।
त्यसबाट मङ्गलबारसम्ममा चार हजार भन्दा बढीको ज्यान गइसकेको छ भने भौतिक रुपमा पनि ठूलो क्षति पुगेको छ ।
हिमालयन देश नेपालमा गएको यो भूकम्पका कारण हिमाली क्षेत्रमा पर्ने असरका बारेमा पनि विभिन्न अनुमानहरु गरिएको छ ।
असी वर्षभन्दा लामो समयपछि आएको यस भूकम्पका कारण मङ्गलबारसम्ममा कम्तीमा पनि चार हजार नागरिकको ज्यान गइसकेको बताइएको छ ।
सो भूकम्पबाट राजधानी काठमाडौंको भौगोलिक बनावटमा नै फेरबदल भएको बताइएको छ । क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर (दश फिट) दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरङ्गहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको ती विज्ञहरुले जनाएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार, क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले सो तथ्य पत्ता लगाउनुभएको हो । ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उहाँको भनाई छ ।
उहाँको यो अनुमान यसअघि आएको अर्को एक तथ्यसँग नै मिल्दोजुल्दो रहेको बताइएको छ । यसअघि पनि गरिएको एक अर्को अनुुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने बताइएको थियो ।
यसअघि पनि अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो । उक्त विश्वविद्यालयको भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि सोही तथ्य बाहिर आएको थियो ।
हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ ।
यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु रहेको बताइन्छ । सो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।
यो तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग) का प्राध्यापक मार्क अलेनले पनि स्वीकार्नुहुन्छ ।
उहाँले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गर्नुभयो ।
उहाँले भन्नुभएको छ– सामान्य रुपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ ।
यस भूकम्पको गहिराई कम्तीमा पनि १५ किलोमीटर हो र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्छ– उहाँको भनाई छ ।
गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्को शक्तिशाली भूकम्प आएको थियो ।
त्यसपछिका ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो ।
















प्रतिक्रिया