पोखरा, १५ वैशाख । तीनवटा भारतीय वायुसेना र एउटा सिम्रिक एयरको हेलिकप्टरले गोरखाका दुर्गम गाउँबाट भूकम्पपीडित ४३ जनालाई उपचारार्थ पोखरा ल्याएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
तीमध्ये केहीको मृत्यु भएको र केही घाइते रहेको बताइएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका अन्य अस्पतालमा उपचार भइरहेको छ ।
गएको शनिबार विनासकारी भूकम्पबाट क्षतिग्रस्त गोरखाको दुर्गम गाउँ लाप्राकवाट १३, गुम्दाबाट १०, सिर्दिवासवाट तीन र सौरपानीबाट १७ जनाको उद्धार गरिएको थियो ।
विनासकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लामा ६५ हजार घरधुरी रहेकामा ५० हजार घर सम्पूर्ण भत्केको बताइएको छ ।
भूकम्पको केन्द्र विन्दुरहेको वारपाकमा एक हजार ३०० घर रहेकामा चार÷ पाँच घर बाँकी रहेर सम्पूर्ण घर ध्वस्त रहेको त्यहांँ पुगेर आएका स्काइ टच रेस्टुरेन्ट पोखराका सञ्चालक विवी विष्टले जानकारी दिनुभयो ।
भूकम्पबाट ताप्राकको पनि पूरै गाउंँ ध्वस्त भएको उहाँले बताउनुभयो ।















प्रतिक्रिया