४ कार्तिक २०८३, बुधबार

दोलखाका भूकम्प पीडितले त्रिपाल समेत पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । दोलखा जिल्लामा भूकम्पका कारण ९० प्रतिशत घरबारविहीन भएका विस्थापितहरुको हालसम्म उद्धार हुन सकेको छैन भने राहत सामग्रीका नाममा पानी पर्दा ओतलाग्ने पालसम्म नपाएको गुनासो छ ।

शनिबार र आइतबार गएको भूकम्पका कारण दोलखामा ९० प्रतिशत ढुङ्गा माटोका घर भत्किएका र कतिपय स्थानमा सम्पर्कसमेत हुन नसक्दा मानिसहरु जीवित छन् कि छैनन् भन्नेसमेत जानकारी नभएको दोलखा क्षेत्र नं १ का सभासद् आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

लामाबगर गाविसमा रहेका तर सम्पर्कमा नआएका यार्सागुम्बा टिप्न गएका करिब ९०० मानिस हालसम्म सम्पर्कमा आउन नसकेका र गाउँ–गाउँमा उद्धार टोलीको अभावका कारण उद्धार गर्न यथार्थ जानकारी प्राप्त गर्न नसकेको दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक पहिरोले पुरिएर बाटो बन्द भएपछि कतिपय घाइतेले उपचारसमेत पाउन नसकेका र उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सदरमुकाम चरीकोटमा सनाखत भएर आएका मृतक हालसम्म ५५ जना र १०० जनाभन्दा बढी घाइते भएका छन् ।

नेपाल पत्रकार महासङ्घको जिल्लाका पूर्व सभापति चिरञ्जीवी मास्केका अनुसार घर पूर्णरुपमा भत्किएपछि मानिसले खेतबारीमा रात बिताइरहेका छन् । पानी परेका कारण ओत लाग्ने ठाउँसमेत नहुँदा घरविहीनहरु झन् पीडामा परेका छन् । सरकारसँग केही नभए पनि पानी पर्दा बस्ने छहारीको रुपमा पालको माग गरेका छन् ।

सरकारले सोमबार हेलिकप्टरमार्फत पाल र खाद्य सामग्री लैजाने भने तापनि अहिलेसम्म त्यो काम हुन सकेको छैन । रासस