४ कार्तिक २०८३, बुधबार

भूकम्पपछि ललितपुरको पूर्वी भेगमा चोरीको डर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । गत शनिबारदेखि सुरु भएकोे लगातारको विनासकारी भूकम्पपछि पीडित ललितपुरको पूर्वी भेगका जनतामा चोरीको त्रास बढेको छ ।

अधिकांश कच्ची घरमा रहेका पीडित क्षतिग्रस्त घरमा बस्न नसकेर घर नजिकै पाल हालेर बसिरहेको अवस्थामा सोमबारदेखि चोरीका घटनाले उनीहरु थप पीडित भएका हुन् । राति सुतिरहेको अवस्थामा शङ्कास्पद व्यक्ति ओहोरदोहोर गर्ने गरेकाले गस्ती गर्नुपरेको महालक्ष्मी नगरपालिकास्थित लुभू निवासी आनन्द महर्जन बताउनुहुन्छ ।

पुरानो बस्ती भएकाले अघिकांश कच्चीघर बस्न नहुने अवस्थामा रहेकाले आफूहरु पाल हालेर बस्नुपरेको छ तर चोरलाई भने ज्यानको पनि डर हुँदैन रहेछ क्यारे योजनाबद्ध तरिकाले जोखिम मोलेरै भए पनि सामान चोर्ने दाउ खोजेर बस्दा रहेछन्, भन्नुहुन्छ उहाँ ।

सोमबारदेखि चोर आएको हल्ला सुनिन थालेकाले आफूहरु समूह बनाएर राति–राति गस्तीमा जाने चाँजो मिलाइएको अर्का स्थानीय व्यक्ति सुमन थापा बताउनुहुन्छ ।

चोरीका घटना हुन नदिन र स्थानीय पीडितको उद्धारका लागि लुभू, लामाटार सिद्धिपुरलगायतका क्षेत्रमा गस्ती गर्न इमाडोल प्रहरी प्रभागबाट थप सहयोग समेत मागिएको लुभू प्रहरी प्रभागले जनाएको छ ।

भूकम्पसँगै बिजुली बत्ती र खानेपानीका सार्वजनिक धारा पनि बन्द भएकाले लुभू, सिद्धिपुर र टीकाथलीका बासिन्दालाई खानेपानीको समस्या परेको र खानेपानीका लागि टाढा–टाढासम्म धाउनुपरेको छ भने मोबाइल चार्ज गर्न नपाएर खबर आदान–प्रदानमा समस्या परेको यहाँका बासिन्दाको गुनासो छ ।

विद्युत् प्राधिकरणको लुभू नोलाइट शाखाका कर्मचारी कृष्णगोपाल श्रेष्ठ भन्नुहुन्छ– सोमबार लुभू र सिद्धिपुरमा विद्युत् आपूर्ति भइसकेको र आजदेखि लामाटारमा पनि विद्युत आपूर्ति हुनेछ ।

यसैगरी स्थानीय क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनसमेत नचल्दा यहाँका बासिन्दाले आवत–जावतका लागि कठिनाइ भोग्नुपरेको छ । सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन सरकार र यातायात व्यवसायीबीच समन्वय भए पनि मङ्गलबारसम्म पनि यस्को कार्यान्वयन भएको पाइँदैन । रासस