
काठमाडौँ, २४ वैशाख । युरोपेली युनियन (ईयू)ले मात्र यस वर्षको अन्त्यसम्म रुसबाट तेल खरिद गर्नमा पूर्ण प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ । यद्यपि, रुसबाट ग्यास आयात नगर्ने विषयमा ईयूका सदस्य राष्ट्रहरूबीच नै सहमति छैन ।
रुसी तेल र ग्याससम्बन्धी के–कस्ता प्रतिबन्ध लगाइएका छन् ?
युरोपेली संघकी अध्यक्ष उर्सला भोन डेर लेयनले २०२२ पछि ईयूका कुनै पनि सदस्यले रुसबाट तेल खरिद गर्न नपाउने घोषणा गरिसकेकी छन् । यसमा हंगेरी र स्लोभेकियालाई मात्र वैकल्पिक आपूर्तिको खोजी गर्न थप २०२३ सम्मको समय दिइएको छ ।
मार्चदेखि नै ईयूले रुसबाट आयात गर्ने ग्यासको मात्रा दुई तिहाइले घटाउने प्रतिबद्धता जनाएको थियो । यसमा रुसप्रतिको निर्भरता थप कम गर्नलाई छलफल भइरहेको छ ।
अमेरिकाले त पहिले नै रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्धको घोषणा गरिसकेको छ । बेलायतले चाहिँ वर्षको अन्त्यसम्म रुसी तेल आयातमा रोक लगाउने जनाएको छ ।
यता, रुसले भने तेल आयात निषेध गर्नु विश्वव्यापी तेल बजारका लागि भयावह सावित हुने चेतावनी दिइरहेको छ । तर, अनेकौँ आर्थिक प्रतिबन्धका बाबजुद रुसले युरोपेली युनियनलाई जीवाष्म इन्धन बिक्री गरी आफ्नो मासिक आम्दानी दुई गुणाले बढाइरहेको छ ।
युक्रेनमा युद्ध सुरु भएदेखि ईयूले रुसबाट हरेक महिना २३ अर्ब डलर बराबरको इन्धन आयात गरिसकेको बताइएको छ । यता तेल र ग्यासको भाउ व्यापक रूपमा बढिरहँदा अवस्था थप चुनौतीमय बन्ने देखिएको छ ।
रुसले कति तेल निर्यात गर्छ ?
रुस विश्वकै तेस्रो सबैभन्दा ठूलो तेल उत्पादक हो । यसबाहेक अमेरिका र साउदी अरबले मात्र ठूलो मात्रामा तेल उत्पादन गर्छन् । यसमा रुसको आधाभन्दा बढी कच्चा तेल युरोपमा निर्यात हुने गरेको थियो । २०२० मा नेदरल्यान्ड्स र जर्मनीले रुसबाट प्रतिदिनको हिसाबले सबैभन्दा बढी तेल आयात गरेका थिए ।
त्यस्तै, वैकल्पिक आपूर्तिकर्ताको खोजी गर्न भनिएको स्लोभाकिया र हंगेरीले पनि रुसबाट ९६ प्रतिशतसम्म तेल आयात गर्ने गरेका छन् । अमेरिका र बेलायतले चाहिँ तुलनात्मक रूपमा रुसबाट धेरै कम तेल आयात गर्दै आएका छन् ।
रुसी तेलको विकल्प केही छ ?
रिसर्च विश्लेषक बेन मेकविलियम्स भन्छन् ग्यासभन्दा तेलको विकल्प खोज्न सजिलो हुनेछ । यसअघि, (इन्टरनेसनल एनर्जी एजेन्सी) आईईएका सदस्य राष्ट्रहरूले आफ्नो तेल भण्डारणबाट झन्डै १ करोड २० लाख ब्यारल तेल निकालेका थिए । यो भनेको इतिहासकै ठूलो निष्कासन हो ।
मार्चको अन्त्यमा अमेरिकी राष्ट्रपति बाइडेनले पनि इन्धनको मूल्य घटाउने प्रयासअन्तर्गत ठूलो मात्रामा तेल निकाल्ने घोषणा गरेका थिए । यता अमेरिकाले साउदीलाई पनि तेल उत्पादन बढाउन दबाब दिइरहेको छ भने भेनेजुएलाबाट आयात गर्न त्यसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेको छ ।
रुसबाट ग्यासको आपूर्तिमा कस्तो प्रभाव ?
युक्रेनमा हमला गरेपछि पनि रुसले ठूलो मात्रामा युरोपभर ग्यास निर्यात गरिरहेको छ । तर, पश्चिमा शक्तिहरूले यसमाथि आर्थिक प्रतिबन्ध जारी गरेपछि भने राष्ट्रपति पुटिनले अमैत्रीपूर्ण देशहरूले अबबाट ग्यास खरिद गर्दा रुसी मुद्रा रुबलको प्रयोग गर्नुपर्ने घोषणा गरेका हुन् ।
रुसको राष्ट्रिय स्वामित्वमा रहेको ऊर्जा कम्पनी गेजप्रोमले यसअघि पोल्यान्ड र बुल्गेरियामा ग्यासको आपूर्ति कटौती गरेको थियो र रुबलमा भुक्तान नगरेसम्म निर्यात जारी नगर्ने चेतावनी दिएको हो ।
ईयूले रुसको यस्तो नीतिलाई ‘ब्ल्याकमेल’ ठहर गरिरहेको छ । तर, मेको मध्यसम्ममा अन्य ईयू राष्ट्रहरूले पनि यस्तै किसिमको अवरोध सामना गर्नुपर्ने छ । युरोपले तेल र ग्यासका लागि रुबलमा भुक्तान सुरु गर्नासाथ यसले रुसी मुद्राको भाउ बढाइदिने छ र नतिजास्वरूप त्यहाँको अर्थतन्त्रलाई फाइदा पुग्ने छ ।
कसले तिरिरहेको छ त रुबलमा ?
यसअघि, अध्यक्ष उर्सलाले रुसी मागको सम्बोधन गर्नु भनेको युरोपेली युनियनका प्रतिबन्धहरूको उल्लंघन गर्नु बराबर भएकाले यसो गर्ने कम्पनीहरू जोखिममा पर्ने चेतावनी दिएकी थिइन् । युरोपेली राष्ट्रहरू रुसी ऊर्जा आपूर्तिप्रतिको निर्भरताबाट कसरी मुक्त हुने भनेर निश्चित हुन सकिरहेका छैनन् ।
अहिले जर्मनीसहित हंगेरी र स्लोभेकिया लगायतका कम्पनीहरूले ग्यासका लागि रुसी बैंकमार्फत युरोमा भुक्तान गर्ने बताइरहेका छन्, जसमा पछि मात्र उक्त बैंकले भुक्तानलाई रुबलमा परिणत गराइदिने छ । यसो गर्नुले ईयू प्रतिबन्धको कुनै उल्लंघन नहुने बताइएको छ । अस्ट्रिया र इटलीले पनि रुसी बैंक गेजप्रोम बैंकमा अकाउन्ट खोल्ने योजना बनाइरहेको खबर गरिएको थियो ।
युरोपमा कति ग्यास आपूर्ति गर्छ रुस ?
२०१९ मा मात्र युरोपमा आयात गरिएको ४१ प्रतिशत ग्यास रुसबाट आएको थियो । यस्तोमा रुसले युरोपमा ग्यास आपूर्ति बन्द गर्यो भने विशेषगरी जर्मनी र इटली संवेदनशील अवस्थामा पुग्नेछन् ।
अमेरिकाले रुसबाट कुनै ग्यास आयात गर्ने गरेको छैन र बेलायतले पनि केबल ५ प्रतिशत मात्र रुसबाट भित्र्याउँदै आएको छ । रुसले विभिन्न मुख्य पाइपलाइनमार्फत युरोपमा ग्यास पठाउने गरेको छ । यसमा पहिले ग्यासलाई क्षेत्रीय भण्डारणमा संकलन गरिन्छ अनि युरोपभर बाँडिन्छ ।
के रुसी ग्यासको केही विकल्प छ ?
युरोपले ग्यासका लागि कतार, अल्जेरिया वा नाइजेरियासँग व्यापार बढाउन सक्छ । तर, त्यसमा पनि उत्पादन तीव्ररूपमा विस्तार गर्नेसम्बन्धी थुप्रै व्यावहारिक अवरोधहरू छन् ।
यता अमेरिकाले युरोपलाई वर्षको अन्त्यसम्म १५ अर्ब क्युबिक मिटर बराबर तरल पारिएको प्राकृतिक ग्यास पठाउने भनेको छ । यसैगरी, युरोपले सौर्य ऊर्जा, विन्ड पावरलगायत दिगो श्रोतहरूबाट पनि ऊर्जा उत्पादन बढाउन सक्छ । तर, यसलाई पनि चुनौतीमय नै मानिएको छ ।-बीबीसी















प्रतिक्रिया