– तीर्थ नेपाल
चितवन १५ वैशाख । राजधानी काठमाडौंका अस्पतालहरु भूकम्प पीडित घाईतेहरुले भरिएपछि उपत्यका वाहिरका घाईतेहरुलाई चितवनको भरतपुरमा ल्याउन थालिएको छ । राजधानीमा चाप वढेपछि भरतपुर र पोखरामा घाईते पठाउन थालिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
एकै ठाउँमा उपचार गर्न कठिन हुने र सरुवा रोगको संक्रमण पनि बढी हुने भएकाले घाईतेहरुलाई भरतपुर तर्फ पठाइएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण बिभागका प्रमुख डाक्टर बाबुराम मरासीनीले जानकारी दिनुभयो ।
भरतपुरको सरकारी अस्पताल र मेडिकल कलेजहरुमा गरी अहिले एक सय ६४ जनाको उपचार चलिरहेको छ । भरतपुर अस्पतालमा ६४, नयां मेडिकल कलेजमा ६० र पुरानो मेडिकल कलेजमा ४० जनाको उपचार भैरहेको रेडक्रस चितवनका सदस्य राजकुमार गुप्ताले जानकारी दिए । चितवन, धादिङ, नवलपरासी, तनहुँ, गोरखा, नुवाकोट, रसुवा सहितका जिल्लाका बिरामीहरुलाई उपचारका लागि सम्वन्धित जिल्लामा प्राथमिक उपचार गरि भरतपुर अस्पताल ल्याइएको हो ।
अस्पतालमा ल्याइएका घाईतेहरुलाई प्रभावकारी रुपमा निशुल्क उपचार भैरहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर बिजयप्रसाद पौडेलले बताउनुभयो । नुवाकोटका २० जना, धादिङका १८ जना, चितवनका १४ जना, रसुवाका ४ जना, गोरखाका ४ जना, नवलपरासीका ३ जना, तनहुँका २ जना, ललितपुर र सिन्धुलीका १, १ जना बिरामीहरूको उपचार भरतपुर अस्पतालमा भैरहेको छ । अधिकांश घाईतेलाई हाडजोर्नी सम्वन्धि समस्या देखिएको छ । हात खुट्टा र ढाड भाँचिएका वा चोटलागेकाहरु संख्या धेरै रहेको डाक्टर सुरेश प्रधानले जानकारी दिनुभयो ।
बिभिन्न जिल्लावाट भरतपुरमा उपचारका लागि आएका भुकम्प पिडीतलाई बस्न खान र यातायात खर्चको समस्या भएपछि भरतपुरका टोलवासीहरुले पैसा उठाएर सहयोग गरेका छन् । भरतपुर उप–महानगरपालिका वडा नम्वर ११ र १२ मा रहेका बिभिन्न ७ वटा टोल विकास संस्थाले भरतपुर अस्पतालमा गई नगद ८० हजार ५ सय १० रुपैया सहयोग गरेका हुन् ।
पारिजात टोल विकास संस्था, आनन्द टोलविकास संस्था, जागृतिचोक बिकास संस्था, बसन्तपुर टोलविकास संस्था, एकता बचत कोष, जागृती भलाई कोष र कल्याणकारी बचत कोषले सहयोग रकम भरतपुर अस्पताल कर्मचारी युनियन रकम हस्तान्तरण गरेका थिए । संस्थाहरुका तर्फवाट सुदीप सिंह अधिकारी, बेदवहादुर थापा, माधव धिताल, खड्गवहादुर केसी, गीता अधिकारी र वावुराम भण्डारीले संयुक्त रुपमा कर्मचारी युनियनका उपाध्यक्ष डाक्टर उन्नत श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा उपचारका लागि आएका भूकम्पपीडीतलाई सरकारले उपचार निःशुल्क गरेपनि अन्य खर्च अभावमा कुरुवाहरुलाई अत्यन्त समस्या परेको छ । कर्मचारी युनियनका पहलमा सहयोग जुटाएर झण्डै दुई सय जना कुरुवाहरुलाई खाना खुवाइएको छ ।
घर फर्कन खोज्ने कुरुवाहरुसंग यातायात खर्चको पनि समस्या छ । प्राप्त सहयोग रकमलाई बस्न खान र यातायात खर्चको प्रयोजनका लागि बितरण गरिने डाक्टर श्रेष्ठले बताउनुभयो । घरजान खोज्नेलाई भाडा समेत नरहेको अवस्था छ, बिपन्न पिडीतका साथमा अलिकती पनि पैसा छैन, उनीहरुलाई सहयोगको खांचो छ–श्रेष्ठले भने ।
स्थानिय प्रशासनको अनुमतिमा आफुहरुले संस्थाहरुले दिएको सहयोग रकम आफुले बुझेको उहांले बताउनुभयो । यसैबीच मारवाडी सेवा केन्द्र नारायणगढले भरतपुरमा उपचारका लागि भुकम्पपीडीतलाई खाजा खुबाएको छ । केन्द्रले भुजा, पानी, दालमोठ सहितको पोका खाजा खुवाएको हो ।
चितवनमा भूकम्पका कारण चितवनमा ५ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पूर्वी चितवनको खैरहनी सिमलटारीका ६० वर्षीय डोलराज परियारको मृत्यु भएको छ । त्यसैगरी, चण्डिभञ्ज्याङ मंगली चेपाङको पनि भूकम्पका कारण घर भत्कदा च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । परियारको भूकम्पपछि हृदयघात हुँदा मृत्यु भएको हो ।
यसअघि रत्ननगर–१ का दामोदर मिश्र र काउले–९ की सोमा विकको मृत्यु भएको थियो । त्यसैगरी उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज ल्याइएको सर्लाहीका वुद्धिबहादुर परियारको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए । चितवनमा जम्मा ४ जना घाईते छन् ।
















प्रतिक्रिया