– सुदीप अधिकारी
बर्दिया, १५ बैशाख । बर्दियाका अधिकांश विद्यालयहरुले आइतबार विद्यार्थीहरुलाई कक्षा कोठामा नराखी खुला चौरमै कक्षा सञ्चालन गरेका छन् ।
आइतबार कुनै पनि बेला भूकम्प आउन सक्ने सम्भावना रहेको भन्ने चर्चाका कारण यहाँका अधिकांश विद्यालयले चौरमै कक्षा संचालन गरेका हुन् । भूकम्प आइहाले पनि विद्यालयमा मानविय क्षती नहोस् भनेर बालवालिकालाई खुला चौरमा राखेर कक्षा संचालन गरेको विद्यालयका शिक्षकहरुले बताएका छन् ।
‘यस्तो अवस्थामा चौरनै सुरक्षित मानिने भएकाले सबै विद्यार्थीलाई खुला चौरमा राखेर पठनपाठन गरेका हौ,’ त्रिभुवन उच्च माविका शिक्षक प्रदीप भण्डारीले बताए । शनिबार भूकम्पको झड्का महसुस गरेका र काठमाडौं लगायत मुलुकका विभिन्न जिल्लामा भएको क्षतीका कारण आइतबार यहाँका विद्यार्थी त्रसित थिए । अघिल्ला दिनमा भन्दा विद्यालयहरुमा विद्यार्थीको उपस्थिती न्युन रहेको शिक्षकहरुले बताएका छन् ।
विद्यार्थीमा देखिएको मानसिक त्रासका कारण यहाँका विद्यालय पुरा समय संचालन भएनन् । विद्यार्थी शिक्षक दुबैमा देखिएको त्रासका कारण केही विद्यालयले प्राथनासँगै विदा समेत गरेको जिल्ला शिक्षा कार्यालयले जनायो । आइतबार दिउँसो पुनः आएको भूकम्पको झड्काका आएपछि अधिकाशं विद्यालयले छुट्टी गरेका थिए ।
शनिबार आएको भूकम्पका कारण यहाँ २ वटा सामुदायिक विद्यालयको भवन सामान्य चर्केको शिक्षा कार्यालयले जनाएको छ । शम्भुशरण उच्च मावि र भगवती संस्कृत माविको भवन सामान्य चर्केको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए ।
















प्रतिक्रिया