– प्रकाश सिलवाल
काठमाडौँ, १४ वैशाख । सिन्धुपाल्चोक पदमवास गाविस–५ की ३० वर्षीया सविता कुँवर आफ्नो घरमा मकै छोडाउँदै थिइन् । घरमा महिला मात्र थिए । एकाएक भूकम्प आयो । विनाशकारी भूकम्पले उनकी एक छोरीको घटनास्थलमै दुःखद् निधन भयो । सासू र आफू घाइते भइन् ।
भाग्न खोज्दा खोज्दै आफू बाँचेका कुँवरलाई एकमन खुसी छ, सँगै छोरी गुमाउँदा र सासू घाइते हुँदा दुःखकाले थिचेको छ । घर र गोठ पूर्णतः क्षतिग्रस्त भएका छन् । “त्यसको विवरण लिन भ्याइएको छैन, पहिला आफ्नो र सासूको उपचार गरौंँला, त्यसपछि कहाँ बस्ने, के गर्ने भन्ने सोच्नुपर्ला ।” महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा खतरामुक्त घाइतेको लहरमा रहेकी कुँवरले भनिन्, ‘घरमै मकै छोडाइरहँदा यस्तो हाल भयो । अचानक छोपेर आयो, भाग्न सकिन ।’
उनको हाड भाँचिएको छ । चिकित्सकले शल्यक्रियाका लागि एक सातापछि समय दिएका छन् । गम्भीर घाइतेको उपचारमा अस्पतालका स्वास्थ्यकर्मी लागेकाले सामान्य बिरामीको उपचारलाई कम प्राथमिकता दिइएको छ । कुँवरको हेरचाहमा उनकी नन्द सक्रिय छिन् । निःशुल्क भनिए पनि औषधिको रकम तिर्नुपरेको उनको गुनासो छ ।
यही वैशाख १२ गतेको विनाशकारी महाभूकम्पमा काठमाडौंँपछि बढी क्षति हुने जिल्लाको सूचीमा सिन्धुपाल्चोक परेको छ । सिन्धुपाल्चोकको छिमेकी काभ्रेपलाञ्चोक कोसीपारिका तारा खरेललाई पनि भूकम्प गएपछिको सात घन्टासम्म आफ्नी पाँच वर्षीया छोरी रजिताको श्वास गइसकेको भन्ने त्रासले सताएको थियो । लाजिम्पाटस्थित एक शिशु विद्यालयमा काम गर्दै छोरीलाई पनि त्यही पढाउने र बस्ने गरेकी खरेलकी छोरीलाई विद्यालयको भवन भत्किएर पुरेको थियो । उद्धार टोलीले सात घन्टापछि छोरीलाई जीवितै उद्धार गरेपछि उनको खुसीको सीमा रहेन । छोरीलाई अनुहारमा सामान्य चोट लागेको छ । छोरीसहित कुँवर अहिले शीतल निवासको राष्ट्रपति भवनको अस्थायी शिविरमा अन्य सर्वसाधारणसहित बस्दै आएकी छिन् ।
सबैजसो घाइते र तिनका परिवारका आफ्नै पीडा छन् । शनिबार राति नै शिक्षण अस्पतालमा ल्याइएका खुट्टामा चोट खेपेका बुढानिलकण्ठ निवासी सुदीप भट्टराई र सिन्धुपाल्चोक भोटसिपा–४ का जनक मैनालीको आज मात्र घाउ सफा भएको छ । उनीहरुलाई अस्पतालभित्र बस्ने ठाउँ छैन, सर्वसाधारणसँगै त्रिपालमुनि बसेर उपचार गराइरहेका छन् । शिक्षण अस्पतालमा आज पनि काठमाडौंँ र आसपासका जिल्लाबाट घाइते ल्याउने क्रम जारी छ ।
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा जगदीशप्रसाद लम्सालका अनुसार हामीले घाइते आउनेबित्तिकै उनीहरूलाई हरियो, पहेँलो र रातोमा वर्गीकरण गरी कार्डियोलोजी, अर्थाेपेडिक र जनरल (ओपिडी) मा कुन विभागमा पठाउने हो पहिल्यै तोकिएर भर्ना गराउने गरिएको छ । उहाँ भन्नुहुन्छ, “हामीले क्षमताले भ्याएसम्म सबै घाइतेको उपचार गर्ने हो, कतिपय सामान्य बिरामीको शल्यक्रिया र ‘फलोअप’ उपचारका लागि केही दिनपछि समय दिनुपरेको यथार्थ हो ।” रासस















प्रतिक्रिया