नयाँ दिल्ली, १४ वैशाख । भारतको पूर्वी तथा उत्तरी क्षेत्रमा आइतबार राति र सोमबार बिहान पनि भूकम्पका कयौं धक्का महसुश गरिएको बताइएको छ ।
भारतको उत्तरी–पूर्वी भागमा नेपालमा गत शनिबारको शक्तिशाली भूकम्पपछि पनि निरन्तर रुपमा धक्का जारी रहेको भारतीय अधिकारीले जनाएका छन् ।
नेपालमा जारी रहेको उक्त भूकम्पको धक्का राजधानी नयाँ दिल्लीसम्म पनि महसुस गरिएको बताइएको छ ।
गएको शनिबार र आइतबार दिउसो नेपालमा गएको शक्तिशाली भूकम्पका धक्का भारतमा पनि निरन्तर रहँदा त्यसमा परी कम्तीमा ६२ जनाको ज्यान गएको छ ।
नेपालमा केन्द्रविन्दु रहेको ती भूकम्पहरूको धक्का भारतका विभिन्न सहरमा पटकपटक महसुस गरिएका छन् ।
आइतबार दिउसो गएको ६.७ रेक्टर स्केलको दोस्रो पटकको भूकम्पबाट पनि पश्चिम बङ्गाल, बिहार, आसामलगायतका विभिन्न सहरमा क्षति पुगेको छ ।
त्यसैगरी भूकम्पको धक्का उडिसा, उत्तरखण्ड, पञ्जाव, झारखण्ड, उत्तर प्रदेश, नयाँ दिल्ली र छत्तिसगढमा पनि महसुस गरिएको छ ।
उक्त भूकम्पबाट मृत्यु हुने व्यक्तिका प्रत्येक परिवारलाई छ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भारत सरकारले गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुकम्प पीडितलाई सहयोग तथा उद्धारका काममा लाग्न सुरक्षा निकाय एवम् कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
भूकम्पबाट शनिबार ५१ जनाको ज्यान गइसकेको छ र आइतबार दोस्रो पटक आएको भूकम्पबाट ११ गरी ६२ जनाको ज्यान गएको जानकारी भारतीय गृहसचिव एलसी गोयलले दिनुभएको हो ।
भूकम्पबाट सवैभन्दा बढी प्रभावित राज्य बिहार हो । बिहारमा मात्र भूकम्पबाट ४६ जनाको मृत्यु भएको छ ।
बिहारका मुख्यमन्त्री नितीश कुमारले भूकम्पबाट ठूलो क्षति भएको बताउँदै बिहारमा मात्र ५० जनाको ज्यान गएको बताउनुभएको छ ।
बिहारमा आइतबार र सोमबारका लागि सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएको छ । कतिपय स्थानका विद्यालयमा पीडितलाई राख्ने अस्थायी शिविरका रुपमा प्रयोग गिरिएको छ । रासस/पिटीआइ















प्रतिक्रिया