– मिलन शर्मा
लमजुङ, १४ वैशाख । शनिबार दिउँसो गएको भूकम्पका कारण लमजुङमा ४ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी अहिलेसम्म २० जना घाइते भएको प्रहरीले जनाएको छ । शनिबारको भूकम्पमा परी गौंडा ९ का १८ वर्र्षीया लक्ष्मी गुरुङ, इलमपोखरी ५ का ९१ वर्र्षीया नेप्टी तामाङ, तीन महिनाका सुमित विक र इलमपोखरी ६ का ६२ वर्षका सोरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीहरुमा उपचार भइरहेको छ ।
भूकम्पमा परी लमजुङमा सयौं घरहरु क्षतिग्रस्त भएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार हालसम्म ६ सय ६९ घरहरु पूर्ण रुपमा क्षति भएको तथ्याङ्क आएको छ । सबैभन्दा बढी पूर्वी लमजुङको बिचौर गाविसमा २ सय ४२ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै दूधपोखरी गाविसका ८४ घर पूर्ण ध्वस्त भएका छन् । जिल्लाभर ६ सय ८१ घरमा आंशिक क्षति भएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दुई पटकसम्म भूकम्पको शक्तिशाली धक्का महसुस भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसी उद्धारका लागि ५ वटा टोलीलाई आइतबारदेखि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।
भूकम्पका कारण पूर्वी लमजुङका बिचौर, इलमपोखरी, दूधपोखरी, गौंडा, प्यारजुङ, भारते, समीभन्ज्याङ, भोर्लेटार लगायतका गाविसमा पनि थुप्रै घरहरुमा क्षति पुगेको छ ।
यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समिति लमजुङको आज बसेको बैठकले भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले २ दिनको र अन्य कर्मचारीहरुले १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको छ । सोही बैठकमा हाल लमजुङमा रहेका बेलायती नागरिक एरिकले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । रासस















प्रतिक्रिया